सर्वदलीय वैठकमा कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : एमसीसी अघि बढाउन सघाउनु पर्‍यो


४ बैशाख २०७८, शनिबार
KP sharma oli pm of nepal scaled

काठमाडौं, ४ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय वैठक विशेष गरी तीन एजेण्डामा छलफल गर्दै सकिएको छ ।

बैठकमा विभिन्न तीन एजेण्डामा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीपकुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन र संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको जानकारी दिए । तीन एजेण्डामध्ये एमसीसी सम्झौताको विषय जोड्तोडका साथ उठेको छ । प्रधानमन्त्री केपी ओलीले एमसीसी सम्झौता अघि बढाउन सरकारलाई सहयोग गर्न कांग्रेससहितका विपक्षी दललाई आग्रह गरेका छन् ।

आज बसेको सर्वदलीय बैठकमा ओलीले एमसीसी सम्झौतामा विलम्ब गर्न नहुने भन्दै सहयोगका लागि विपक्षी दलहरूलाई अपिल गरेका हुन् । ‘सभामुखले सरकारलाई असाध्यै असहयोग गर्नुभयो । उहाँ अनैतिक र अराजक देखिनु भयो । एमसीसी अघि बढाउन पनि उहाँ बाधक बन्नुभयो’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘आफ्नै देशको विकास खातिर भएकाले एमसीसी अघि बढाउन कांग्रेससहितका दलबाट म सहयोग अपेक्षा गर्छु ।’

जवाफमा आफूहरूले सम्झौताका केही प्रावधान परिमार्जन गरे सहयोग गर्ने प्रतिवद्धता जनाएको पौडेलले बताए । उनले सभामुखलाई दोष दिएर सरकार पन्छिन नमिल्ने जवाफ दिएको जानकारी दिए । ‘एमसीसी सम्झौताप्रति कांग्रेस पहिलेदेखि नै सकारात्मक छ । यो सदनको विषय बन्नुपर्छ तर केही विवादित प्रावधान संशोधन हुनुपर्ने जवाफ हामीले दियौं,’ पौडेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७