शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस


४ बैशाख २०७८, शनिबार
rolpaa school

काठमाडौं, ४ बैसाख । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

आज (शनिबार) सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै शहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका छन् । शिक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर डीसीसीएमसीको समन्वयमा पालिकाले विद्यालय बन्द वा खुला गर्न सक्ने जनाएको थियो । स्वास्थ्य मन्त्रालयले अति जोखिम १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरे पनि ती जिल्लाका स्थानीय तहले पूर्णरूपमा विद्यालय बन्द गर्न मानेका छैनन् ।

शिक्षा मन्त्रालयले शुक्रबार विद्यालय पुनः सञ्चालन कार्यढाँचा २०७७ अनुसार पालिकाले जोखिमको प्रकृतिअनुसार विद्यालय बन्दको निर्णय गर्ने सक्ने जनाएको थियो । काठमाडौं महानगरपालिकाले भने स्वास्थ्य मन्त्रालयको सुझावपछि शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि भएका विद्यालयले कम्तीमा एक साता पठनपाठन बन्द गर्नुपर्ने निर्णय गरेको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सकिने बताएका थिए । उनले नै डीसीएमसी र पालिकालाई विद्यालय बन्द गर्न सक्ने अधिकार दिइएको जानकारी गराएका थिए ।
गत वर्ष कोरोना महामारीमा देशभरका विद्यालय एकैपटल्कबन्द गर्दा र खोल्दा अव्यावहारिक भएको भन्दै सरकारको आलोचना भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७