आफ्नै मन्त्रालयबारे मन्त्री-सचिवहरु नै अन्योल, कुन–कुन मन्त्रालय भए खारेज ?


११ फाल्गुन २०७४, शुक्रबार
mantralaya

काठमाण्डौं, ११ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ३१ मन्त्रालयलाई घटाएर १७ मा झारेपछि सर्वसाधरणलाई मात्र होइन स्वयम् सरकारका मन्त्रीलाई नै मन्त्रालयबारे अन्योल सिर्जना भएको छ । सर्वसाधरण र मन्त्री मात्र होइन हिजो–अस्तीसम्म आफ्नो मन्त्रालयमा गएर काम गर्ने मन्त्रालयका सचिवहरु समेत आफ्नो कार्यालय कता गाभियो भन्ने अन्यौलमा छन् । मन्त्रालयको संख्या घटेसँगै अब नेपाल सरकारका कम्तिमा एक दर्जन सचिव जिम्मेवारीविहीन हुँदैछन् । उनीहरुलाई फाजिलमा राख्ने कि एउटै मन्त्रालयमा दुई सचिव राखेर तत्कालको व्यवस्थापन गर्ने भन्ने टुङ्गोमा सरकार पुगेको छैन ।mantralaya

प्रधानमन्त्री ओलीले सपथ लिएकै दिन मन्त्री बनेका लालबाबु पण्डित पनि अहिले मन्त्रालयबारे आफूहरुमा नै अन्योल रहेको बताउँछन् । जनसंख्या तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका लालबाबु पण्डित ३१ मन्त्रालयलाई १७ मा झारेपछि आफू नै अन्योलमा रहेको बताउँछन् । एमाले र माओवादीबीच बाँडफाँट भएका भनिएका मन्त्रालयको संख्यामा जनसंख्या तथा वातावरण मन्त्रालयको अलग अस्तित्व छैन ।

मन्त्रालयको अन्योलबारे पण्डितले भने, ‘खोइ अहिले मेरै मन्त्रालय नै कुन भन्ने अन्योल छ । अहिले टुंगिएकै छैन । मन्त्रालयको संख्या १७ मा झारिएको छ, अरु मिलाउनै बाँकी छन् । मेरो जनसंख्या मन्त्रालय चाहिँ स्वास्थ्य मन्त्रालयमा गाभिएको छ ।’ पण्डितले यस्तो बताए पनि उनै मन्त्री रहेको आधा भाग वातावरण भने वनमा गाभिएको छ । संविधानले २५ सदस्यीयभन्दा ठूलो मन्त्रिपरिषद बनाउन नपाइने भनेकाले वामपन्थी सरकारले मन्त्रालयको संख्या करीब आधा घटाएको हो ।

खारेजीमा परेका मन्त्रालय

मन्त्रालयहरु गाभिएसँगै केही मन्त्रालय भने खारेजीमा परेका छन् । समाचार स्रोतका अनुसार भूमिसुधार तथा व्यवस्था मन्त्रालय अब अलग अस्तित्वमा रहने छैन । त्यस्तै स्थानीय विकास मन्त्रालय पनि खारेज भएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय पनि रहने छैन । त्यस्तै पशुपंक्षी विकास मन्त्रालय पनि रहने छैन । गरिवी निवारण, संस्कृति, विज्ञान प्रबिधि जस्ता अलग अस्तित्व मन्त्रालय पनि अब रहने छैनन् ।

कुन मन्त्रालय कता गाभिए ?

सरकारले यसअघि कायम रहेका ३१ मन्त्रालयको संख्या घटाएर १७ कायम गरेसँगै केही मन्त्रालयको अस्तित्व सकिएको छ । केही मन्त्रालय भने अर्कोतिर गाभिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित १७ मन्त्रालय कायम गरेको छ । यसअघिका सात मन्त्रालय यथावत राखेको छ ।

अन्य २४ मन्त्रालयमध्ये केहीलाई गाभिएको छ भने केही खारेजीमै परेका छन् । कामको प्रकृतिअनुसार केही मन्त्रालय यथावत रहेका छन् । गृह, रक्षा र परराष्ट्र मन्त्रालय यथावत रहेका छन् । त्यस्तै भौतिक पूर्वाधार, सूचना तथा सञ्चार, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पनि यथावत राखिएको छ । अर्थ मन्त्रालयमा योजना समेत थपेर अर्थ तथा योजना मन्त्रालय बनाइएको छ । अर्थमै योजना थपिएपछि सम्भवतः अब राष्ट्रिय योजना आयोग नरहन सक्छ । त्यस्तै पर्यटन मन्त्रालय पनि यथावत रहेको छ । यसअघि अलग अलग रहेका धेरै मन्त्रालय भने कामको प्रकृतिका आधारमा गभिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयमा संघीय मामिला थपेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कामम गरिएको थियो । यसअघि कायम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय थियो । त्यस्तै शिक्षा मन्त्रालय अझ ठूलो बनेको छ । खेलकुद तथा विज्ञान तथा प्रबिधिलाई पनि शिक्षामै गाभिएको छ । जलस्रोत र ऊर्जा मन्त्रालय गाभेर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाइएको छ । स्वास्थ्य मन्त्रालयमा जनसंख्या थपेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कायम गरिएको छ ।

त्यसैगरी शहरी विकासमा खानेपानी तथा सरसफाई समेत गाभेर शहरी विकास, आवास,खानेपानी तथा सरसफाई मन्त्रालय कायम गरिएको छ । वन र वातावरण मन्त्रालय मिलाएर वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ । त्यस्तै कृषी, सहकारी तथा भूमि व्यवस्थापन भनेर नयाँ संरचना खडा गरिएको छ । श्रम तथा रोजगार र महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयलाई गाभेर एउटै बनाइएको छ । उद्योग, वाणिज्य र आपूर्ति तीन अलग मन्त्रालय गाभेर एउटै बनाइएको छ ।

जिम्मेवारीविहीन बन्दै सचिवहरु

मन्त्रालयहरुको पुनर्संरचनासँगै अब बिभिन्न मन्त्रालयको नेतृत्व गरिरहेका कम्तिमा एक दर्जन सचिव जिम्मेवारीविहीन हँदैछन् । गाभिएका मन्त्रालयको सचिव कसलाई बनाउने ? जिम्मेवारीविहीन भएका सचिववलाई के गर्ने ? यसबारेमा सरकारले टुंगो लगाएको छैन । जनसंख्या तथा वातावरण मन्त्री पण्डित यसबारेमा पनि छलफल भइरहेको बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७