एउटै व्यक्तिबाट १३ वटा स्टिङ अपरेसन


६ बैशाख २०७८, सोमबार
ghus

काठमाडौं, ६ बैसाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेसनलाई केही व्यक्तिले ‘धन्दा’ बनाउन थालेको पाइएको छ । अदालतमा पुगेको कागजातका आधारमा एउटै व्यक्तिले १३ वटासम्म स्टिङ अपरेसन गराएका छन् । तिनले कृत्रिम सेवाग्राहीका रूपमा अख्तियारमा उजुरी दिई त्यहींबाट ल्याएको पैसा खुवाएर फन्दामा पार्ने गरेको देखिएको छ ।

ललितपुर गोदावरीका राजकुमार तिमल्सिनाले १३ स्ट्रिङ अपरेसन गराएका हुन् । मोहनलाल ढकालको मुद्दामा २०७७ चैत १८ गते विशेष अदालत काठमाडौंमा गरेको बकपत्रको सवाल–जवाफको १४ र १५ नम्बरमा त्यो उल्लेख छ । मुद्दा नम्बर ००४१ मा उनले १३ वटामध्ये ७ वटाको नाम खुलाएका छन् । बाँकी ६ वटाको भने खुलाएका छैनन् ।

विशेष अदालतको विवरणअनुसार उनले स्टिङ अपरेसन गराएका मुद्दामा ०७६–सीआर–००११२ मा सिन्धुलीका ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीे, सुनसरीका ट्राफिक प्रहरी भीमबहादुर कटुवालसमेत ०७६–सीआर–००१७, अपराध अनुसन्धान विभाग काठमाडौंमा कार्यरत जय नेपाल थापा ००७६–सीआर–०२२० छन् ।

त्यस्तै लक्ष्मण रायमाझी जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायबसुब्बा ०७६–सीआर–०४४३, करदाता सेवा कार्यालय इलाममा कार्यरत मोहनलाल ढकाल ०७७–सीआर–००४१, विदुर रेग्मी ०७५–सीआर–००४१ छन् । उनले सिन्धुली ट्राफिक प्रहरी जवान प्रेमप्रसाद यादवलाई पनि स्ट्रिङ गराएकामा आयोगले सफाइ दिएको थियो । उनले कार्यालयमा सेवाग्राहीका रूपमा प्रवेश गर्ने तरिका विभिन्न अपनाउने गरेको देखिन्छ ।

कुनै घटनामा मामाको कामका लागि गएको देखाउने, कुनै घटनामा आफ्नो ड्राभरको कामको सम्बन्ध देखाउने, कुनै घटनामा उनाउ कामका लागि निवेदन पेस गरेको देखाउने गरेको भेटिएको छ । त्यस्तै राम सागर बिल्डर्सका प्रोप्राइटर खडानन्द पौडेल भन्ने राम पौडेल र सागर लुइँटेलले धेरै स्ट्रिङ गराएका छन् । उनीहरूले अख्तियारबाट रकम लिई धेरैवटा स्ट्रिङ गराएको खुलेको छ ।

सिँचाइ डिभिजन कार्यालय चितवनमा कार्यरत रामभद्र पण्डित, चक्रपाणि लामिछाने, मधु अधिकारी, ऋषिभक्त तिमिल्सिनालाई २०७१ असार ३० गते स्टिङ गराएका थिए । उक्त मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
पौडेलले नारायणी लिफ्ट सिँचाइ प्रणालीको नहर निर्माण गर्ने कार्य र ढुंग्रे खोला झवाने सिँचाइ आयोजनाको ठेक्काको कार्य सम्पन्न गर्न सिँचाइका कर्मचारीलाई स्टिङ गराएका थिए ।

कर्मचारीले १० प्रतिशत कमिसन मागेको र नदिए धरौटी तथा कार्यसम्पन्न प्रमाणपत्र नदिने भनी धम्क्याएको उनले बयानमा बताएका छन्। कार्यालय प्रमुख राजेन्द्र थापालाई ५० हजार, इन्जिनियर पण्डितलाई १ लाख ३८ हजार, अधिकारीलाई ९० हजार, लामिछानेलाई १ लाख र तिमल्सिनालाई ३० हजार अख्तिायरबाटै उपलब्ध गराइदिएको मुद्दामा उल्लेख छ ।

उनीहरूले त्यसको १५ दिनपछि साउन १५ गते काठमाडौंमा २ वटा स्टिङ गराएका थिए । विवरणअनुसार भवन डिभिजन कार्यालय काठमाडौंमा कार्यरत कोमानन्द अधिकारी र दीपा श्रेष्ठ उनीहरूको स्टिङमा परेका थिए । उक्त मुद्दा विशेष अदालतमा ०७१–सीआर–००२१ मा दर्ता भएको छ ।

सोही दिन पौडेल र लुइँटेलले अर्को स्टिङ विशेष आवास डिभिजन कार्यालय अनामनगरमा कार्यरत सुरेशकृष्ण शर्मा, यज्ञबहादुर तिमिल्सिना र रोशन कठायतमाथि गराएका थिए । सो मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ । उनीहरूले नै २०७४ चैत २६ गते बूढानीलकण्ठ नगरपालिकाका ई. बिजेन्द्र श्रेष्ठंलाई स्टिङ गराएका थिए । २०७६ मा सडक कार्यालय लहानका कार्यालय प्रमुख नवीन साहलाई पनि पौडेल र लुइँटेल स्टिङ गराएको विवरणबाट देखिन्छ ।

चन्द्रप्रकाश पौडेल उर्फ सीपी पौडेलले पनि ४ वटा स्टिङ गराएको पाइएको छ। मुद्दा ०७३–सीआर–०१५४ रामहरि रिजाल, ०७४–सीआर–०००६ ईश्वरीप्रसाद दाहाल, ०७४–सीआर–००५५ नगिना राय र ०७४–सीआर–००१७९ सुरेशप्रसाद दास उनले स्टिङ गराएका मुद्दा हुन् । विशेष अदालतको कागजमा पौडेलले कुनैमा आफैं उजुरीकर्ता भएर, कुनैमा उजुरीकर्तालाई उक्साएर कर्मचारीविरुद्ध उजुरी दिन लगाएको पाइएको छ । कुनैमा म अख्तियारको मान्छे हुँ भनेर डरधम्की देखाएको, कुनैमा निरक्षर महिलालाई उजुरी दिन उक्साएको घटना भेटिएको छ ।

रामबहादुर गुरुङले अख्तियारबाट १ लाख बुझी एकै दिन ४ घण्टाबीच ५ वटा स्टिङ गराउन लगाई १० कर्मचारीलाई पक्राउ गराएका थिए । जसअनुसार विशेष अदालतमा ०७५–सीआर–००७१ प्रधानाध्यापक अमन चौधरी, ०७५–सीआर–००७२ प्रहरी नायब निरीक्षक. ज्योति विष्ट, प्रहरी सहायक निरीक्षक सुवास ढुंगाना, प्रहरी हवल्दार दीपक भारती, ०७५–सीआर–००७५ प्रहरी जवान उमेशकुमार यादव र देवेन्द्र कुँवर, ०७५–सीआर–००७८ प्रहरी जवानहरू मानसिंह रोक्का, रत्नप्रसाद रिजाल र ०७५–सीआर–००८४ प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठविरुद्ध मुद्दा चलाइएको छ ।

यस्तो स्टिङ अपरेसनलाई अमान्य गरी सबैलाई विशेष अदालतले सफाइ दिएको छ । उजुरीकर्ता गुरुङलाई १ लाख उपलब्ध गराएको र २०७५ भदौ ३० को दिउँसो फरक–फरक समयमा विभिन्न स्थानमा बोलाई प्रहरी कर्मचारीलाई दिएको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको अदालतको फैसलामा छ ।

सञ्जयकुमार झाले २०७०÷२०७१ तिर भ्रष्टाचारविरुद्ध अभियानको छदम नाममा अख्तियारबाट रकम बुझी लिई धेरै वटा स्टिङका गराएका थिए । झाले तत्कालीन एयरपोर्ट भन्सारका प्रमुख सुदीपचन्द्र शाह, तत्कालीन जिविस काठमाडौंका रुपु खत्री, प्राविधिक कार्यालय काठमाडौंका सालिकराम देवकोटा, अध्यागमन विभागका शुक्र भट्टराईसमेत र वैदेशिक रोजगार विभागका राजेन्द्र बस्नेतमाथि स्टिङ गराएका थिए ।

त्यस्तै अजयप्रसाद जैसवालले ६ महिना अवधिमा तीनवटा स्टिङ अपरेसन गराएका छन् । जैसवालले २०७६ असार ६ मा जिल्ला अदालत बारामा सुनिल चौधरीविरुद्ध फैसला कार्यान्वयनको विषयमा, २०७६ साउन १५ मा फैसला तयार पर्न सनोज महतोले घुस मागेको भन्दै स्टिङ अपरेसन गराएका थिए । २०७६ मंसिरमा मिटर जडानको विषयमा घुस लिएको भन्दै विद्युत कार्यालय कलैया बारामा कर्मचारी राजदेव महतोविरुद्ध उजुरी दिई स्टिङ अपरेसन गराउन लगाएका थिए ।

अख्तियारका प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले विभिन्न ठाउँमा सेवा लिन जाँदा एउटै व्यक्तिमाथि घुस मागिएकाले यस्ता घटना संयोग हुन सक्ने बताए । उनले अख्तियार बिनाप्रमाण स्टिङ अपरेसनमा नजाने गरेको स्पष्ट पारे । ‘प्रमाणबिना हामी अगाडि बढ्दैनौं’, उनले भने, ‘विभिन्न ठाउँमा सेवा लिन जाँदा एउटैमा यस्ता घटना भएका हुन सक्छन्, त्यो संयोग हुन सक्छ ।’ उनले गलत बकपत्र दिए उजुरी दिनेविरुद्ध पनि मुद्दा चल्ने बताए । सेवामा सरोकार नभएको र बार्गेनिङ गर्न उजुरी दिएको प्रमाण पाइए गहनतापूर्वक केलाउने उनले जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७