उपत्यकामा दैनिक १४ करोड लिटर मेलम्चीको पानी


६ बैशाख २०७८, सोमबार
melamchi pani

काठमाडौं, ६ बैसाख । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ ।
आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ । शनिवारसम्म भने साढे ८ करोड लिटर पानी आइरहेको थियो ।

दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारीको नजिक पुगिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिलनकुमार शाक्यले जानकारी दिए । ‘आइतवारदेखि सुन्दरीजलबाट थप पानी छाडिएको र उपत्यकाका सातओटा पोखरीहरूमा पानी थपिएको छ,’ शाक्यले भने, ‘बाँकी तीन वटा पोखरीमा पनि पानी राख्ने क्रम शुरू गरिने र थप ३ करोड लिटर पानी पनि छिटै आउनेछ । त्यसपछि कीर्तिपुर, भक्तपुरको कटुन्जे र ठिमीमा पनि पानी राखेर वितरण गरिनेछ ।’

काठमाडौं उपत्यकामा चैत १५ गतेदेखि मेलम्चीको खानेपानी औपचारिक रूपमा आउन थालेसँगै वितरण पनि शुरू भइसकेको छ । अहिले महांकालचौर, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज, बालाजु, बाँसबारी क्षेत्रका पोखरीहरूबाट पानी वितरण भइरहेको छ ।
मेलम्चीको खानेपानी काठमाडौंमा आएसँगै पुरानै पाइपलाइनबाट पानी वितरण हुँदा हालसम्म ३३० स्थानमा पानी चुहावटको समस्या देखिएको छ । दशकदेखि पुराना पाइपबाट पानी वितरण गरिएको छ । पानीको प्रवाह बढी भएपछि मुख्य सडक तथा भित्री सडकहरूमा अधिक चुहावट देखिएको छ । शाक्यले हालसम्म चुहावट देखिएका ती स्थानमध्ये १८६ स्थानमा मर्मत सम्भार गरिसकेको बताए ।

भित्री सडक तथा गल्लीहरूमा मर्मतसम्भार गरिएको र अहिले मुख्य सडकहरूमा पनि मर्मत सम्भार गर्न सडक विभागले स्वीकृति दिइसकेको उनले बताए । अब छिटै मर्मतसम्भारको काम हुने उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७