साउथ ह्याम्पटनलाई हराउँदै लेस्टर ‘एफए’ कपको फाइनलमा


प्रकाशित मिति : April 19, 2021

काठमाडौं, ६ बैसाख । लेस्टर सिटीले साउथह्याम्पटनलाई १–० ले हराएर आइतबार एफए कपको फाइनलमा प्रवेश गरेको छ । अब लेस्टरले सन् १९६९ यता पहिलोपल्ट वेम्बलीमा हुने फाइनल खेल्नेछ ।

उसका लागि केलेची इहेनाचोले दोस्रो हाफमा निर्णायक गोल गरे । लेस्टरले ठूला प्रतियोगिताको फाइनल खेल्न लागेको यो सन् २००० यता पहिलोपटक हो । त्यस वर्ष उसले लिग कप जितेको थियो । फाइनलमा लेस्टरले चेल्सीको सामना गर्नेछ ।

यता इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–१ ले हराउँदै शीर्ष स्थानमा म्यानचेस्टर सिटीसँगको दूरी आठ अंकमा छोट्यायो । म्यानचेस्टरको ३२ खेलबाट ६६ अंक भएको छ । सिटीको भने समान खेलबाट ७४ अंक छ । म्यानचेस्टरका लागि मेसन ग्रिनउडले दुई तथा एडिसन कभानीले एक गोल गरे । बर्नलीका तर्फबाट जेम्स टारकोवस्कीले एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्