जुम्लाका स्कुले बालबालिकामा रुघाखोकी र ज्वरोको प्रकोप


६ बैशाख २०७८, सोमबार
jumla

जुम्ला, ६ बैसाख । जुम्लामा रुघाखोकी र ज्वरोले बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ ।

रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने समस्या बढेपछि कोरोना महमारी हो कि भनेर स्थानीयवासीले शङ्का गर्न थालेका छन् । जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्लास्थित कालिका माविमा अध्ययनरत ४० प्रतिशतमा विद्यार्थीमा यस्तो समस्या देखिएको छ ।
एक हप्तादेखि विद्यार्थीमा रुघाखोकी र ज्वरोको अत्यधिक प्रभाव देखिएको प्रधानाध्यापक मानबहादुर शाहीले बताए । ‘यहाँ बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकमा पनि यो समस्या छ,’ उनले भने, ‘शुक्रबार जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट गएको पाँच जना स्वास्थ्यकर्मीको टोलीले जाँच गरी औषधि दिएर फर्केको छ ।’

जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य परीक्षणका क्रममा मौसमी रुघाखोकीको समस्या देखिएकाले बिरामी बालबालिका तथा ज्येष्ठ नागरिकलाई औषधि दिएर फर्केको बताए । ‘धेरै विद्यार्थी बिरामी भएको खबर पाएपछि हामीले घटनास्थलमै पुगेर स्वास्थ्य परीक्षण गरेका हौं । त्यहाँ प्रदूषित हावाहुरीका कारण ज्वरो र रुघाखोकी बढिरहेको देखिन्छ,’ उनले भने । उनीहरुलाई एक हप्तासम्म घरमै बस्ने, बाहिर ननिस्कने सुझावसहित औषधिको व्यवस्था गरेर स्वास्थ्यकर्मीको टोली फर्केको छ ।

विद्यालयका अध्यक्ष सुरतबहादुर शाहीले विद्यार्थीमा अत्यधिक रुघाखोकी र ज्वरो बढेका कारण स्थानीय प्रशासनलाई गुहारेर स्वास्थ्य टोलीको सहयोग लिइएको बताए । सकेसम्म शिविर सञ्चालन गर्ने बताउँदै अध्यक्ष शाहीले बालबालिकाका साथै सबै उमेर समूहका मानिसमा यो समस्या देखिएको जानकारी दिए । यस्तै समस्या जनजागृति मावि ताम्ती जुम्लामा पनि देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विशेषज्ञ ड.सन्दीप श्रेष्ठले प्रदूषणका कारण रुघाखोकी र ज्वरो बिरामी बढेको बताए । ‘यस्तो अवस्थामा हेलचेक्र्याइँ गर्नुहुन्न । हरेकले संवेदनशीलता अपनाउन जरुरी छ,’ उनले भने । मौसम बदलिएसँगै जुम्लाको भेरीखोला, सिञ्जा र चौधबीस क्षेत्रमा ज्वरोका बिरामी बढ्दै गएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७