अस्पताल चहार्दा–चहार्दै संक्रमित महिलाको गयो ज्यान


६ बैशाख २०७८, सोमबार
korona death

उदयपुर, ६ बैसाख । आरडीटी पोजिटिभ देखिएकी उदयपुरकी एक महिलाको सोमबार उपचार नपाएर ज्यान गएको छ । कोरोना भाइरस परीक्षणका लागि आरडीटी टेष्ट गर्दा पोजिटिभ देखिएपछि विराटनगरका आधा दर्जन अस्पतालले भर्ना नलिई दिँदा उनको ज्यान गएको हो ।
आइतबार अकस्मात श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा सामान्य उपचारपछि विराटनगर रिफर गरिएकी त्रियुगा नगरपालिका–५ का ३५ वर्षीया महिलाको उपचार नपाएरै ज्यान गएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई एम्बुलेन्समा अक्सिजन दिएर विराटनगरस्थित गोल्डेन अस्पतालमा पुर्‍याइएको मृतकका आफन्तले बताएका छन् । ‘विरामी लैजाना साथ आरडीटी परीक्षण गरियो, तत्काल पोजिटिभ देखियो,’ उनले भने, ‘विरामीको अवस्गा गम्भीर छ, मेडिकल कलेज लैजानुस् भन्नु भयो चिकित्सकले ।’

चिकित्सको सुझाबअनुसार विराट मेडिकल कलेज पु¥याइएको तर त्यहाँ पनि आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएपछि चिकित्सकले भर्ना नगरी फर्काइ दिएको उनले बताए । एकले अर्कोलाई मौखिक रेफर गर्न थालेपछि लगेको एम्बुलेन्समा अक्सिजन सकिएको र अर्को एम्बुलेन्समार्फत म्याक्स अस्पताल, विराट नर्सिङ्ग होम, नोवेल अस्पतालहुँदै कोशी अञ्चल अस्पताल पु¥याए पनि कसैले भर्ना नलिएको उनले बताए ।

कोशी अञ्चल अस्पतालमा आइसोलेसनमा भर्ना गरेको तर चिकित्सकले उपचारमा आनाकानी गरेपछि विरामीको बिहान मृत्यु भएको उनले बताए । उपचार नै नपाइ विरामीको मृत्यु भएपछि आफन्तहरु आक्रोशित छन् ।

अस्पतालका प्रमुख डा. चुमनलाल दासले पीसीआर परीक्षण गर्न नै नपाइ बिरामीको मृत्यु भएकाले कोरोना हो भन्ने एकिन नभएको बताएका छन् । उनले बिरामीको अवस्था आउँदै नाजुक भएकाले बचाउन नसकिएको बताए । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले घटनाबारे अहिलेसम्म केही जानकारी नभएकाले कोरोनाबाट मृत्युबारे पुष्टि गरेनन् । उनले भने, ‘अहिलेसम्म कसैले खबर गरेको छैन्, यदि कोरोना हो भने शव व्यवस्थापनको पाटो हामीबाटै हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७