पाँच सय सवारी साधनसहितको शोभायात्रा गर्दै चितवन पठाइँदै राम–सीताको मूर्ति

मंगलबार देवघाटमा आठ सय र बुधबार माडीमा १५ सय जनालाई खान–बस्नको व्यवस्था


७ बैशाख २०७८, मंगलवार
ram sita murti.jpg .2021 04 20

काठमाडौं, ७ बैसाख । भयावह बनिरहेको कोरोना संक्रमणका कारण चौतर्फी सन्त्रास छ, संक्रमित बढेका बढ्यै छन् । सरकारले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ । तर, प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्देशनमा मंगलबार तामझामसहित बालुवाटारबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति चितवन ल्याइँदै छन् । रथमा मूर्ति राखेर करिब पाँच सय सवारीसाधनसहितको कलशयात्रा तथा शोभायात्रा चितवन पुग्नेछ ।

प्रधानमन्त्री ओलीले गत वर्षको २९ असारमा बालुवाटारमा मनाइएको २०७ औं भानुजयन्तीको कार्यक्रममा रामको जन्मभूमि भारतको अयोध्या नभएर चितवनको अयोध्यापुरी भएको दाबी गरेका थिए । त्यसलगत्तै उनले माडीका स्थानीय जनप्रतिनिधिलाई काठमाडौं बोलाएर अयोध्यापुरीमा राममन्दिर बनाउन निर्देशन दिएका थिए । आगामी वर्षको चैते रामनवमीका दिन मूर्ति अनावरण गर्दै मन्दिर उद्घाटन गर्ने घोषणा उनले गरेका थिए ।

प्रधानमन्त्री ओलीले सरकारीनिवास बालुवाटार राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाउन लगाएका थिए । मंगलबार ती मूर्ति उनले स्वस्तिवाचनसहित धार्मिक विधिबाट हस्तान्तरण गर्ने कार्यक्रम छ । आफ्नै खर्चमा मूर्ति निर्माण गरिएको उनले बताउँदै आएका छन् ।

अयोध्यापुरी व्यवस्थापन समितिका संयोजक तीर्थराज भुसालका अनुसार प्रधानमन्त्रीले मूर्ति हस्तान्तरण गरेपछि रथ, बग्गीसहितको कलशयात्रा र करिब पाँच सय सवारीसाधनसहितको शोभायात्रा मूर्ति बोकेर चितवनका लागि हिँड्नेछ । शोभायात्रा साँझ चितवनको तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा पुग्नेछ । नागढुंगाबाट भने रथमा रहेका मूर्तिलाई गाडीमा राखेर ल्याइनेछ ।

भुसालका अनुसार शोभायात्रालाई देवघाट क्षेत्र विकास समितिले भव्य स्वागत गर्ने कार्यक्रम छ । काठमाडौंबाट टोलीमा आउनेसहित गरेर आठ सयजनालाई खान र बस्नका लागि देवघाटमा व्यवस्था गरिएको छ । बुधबार बिहान आठ बजे देवघाटका विभिन्न पीठाधीशहरूको उपस्थितिमा मूर्तिहरूको जलाभिशेष गरेपछि माडीस्थित अयोध्यापुरी पठाइनेछ ।

अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गर्न अस्थायी मन्दिर निर्माण गरिएको छ । अयोध्यापुरी व्यवस्थापन समितिअन्तर्गतको प्रचार–प्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीका अनुसार देवघाटबाट पनि भव्य कार्यक्रमसहित मूर्तिहरू माडी ल्याइनेछ ।

बिहान ८ बजे नै बाह्मणहरूबाट स्वस्तिवाचन र मन्त्रोच्चारणसहित मूर्तिहरू माडीतर्फ लगिनेछ । स्थानीय रेवा नदी (रिउ खोला) मा परशुराम कुण्डको जलले मूर्तिहरू अभिषेक गरिनेछन् । स्थानीयलाई बाटो किनारमा बसेर स्वागत गर्न आह्वान गरिएको छ । बुधबार माडीमा नौ सय सवारीसाधन राख्ने र एक हजार पाँच सय जनालाई खान–बस्नका लागि व्यवस्था गरिएको उनले बताए ।
चितवनका सिडिओ प्रेमलाल लामिछानेले मूर्ति अनावरण कार्यक्रममा बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र संघीय सरकारका पर्यटनमन्त्री भानुभक्त ढकाल आउने जानकारी पाएको बताए । कार्यक्रमको उनले सहजीकरण गरिरहेका छन् ।

मूर्ति अनावरणका नाममा हुने भिडभाडले कोरोना फैलिने जोखिम हुँदैन भन्ने प्रश्नमा सिडिओ लामिछाने पन्छिन खोजे । ‘यो विषयमा मलाई धेरै बोल्न नलगाई दिनुन् । हामीलाई कार्यक्रमको जानकारी प्राप्त भएको छ, जोखिम कसरी कम गर्न सकिन्छ भन्नेबारेमा पनि सचेत छौँ,’ उनले भने, ‘मुख्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत आउने कुरा छ । यो विषयमा मलाईभन्दा माथि नै सोध्नुभए राम्रो हुन्थ्यो ।’

गत १८ कात्तिकमा पनि माडी–९ गणेशगुञ्जमा सुन्दरकाण्ड संगीतमय पारायण गरिएको थियो । जुन कार्यक्रममा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश पठाएका थिए । गत वर्षको २३ साउनमा प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर– ९ का अध्यक्ष शिवहरि सुवेदीलाई फोन गरेर काठमाडौं आउन भने । उनीसहित उपमेयर ताराकुमारी काजी महतो, अयोध्यापुरी खोज अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेललगायतको टोली बालुवाटार पुगेको थियो ।

दुई घन्टाको छलफलमा प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै भएको दाबी गर्दै मन्दिर बनाउन निर्देशन दिएका थिए । उनले माडी नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्ने तयारी गर्न पनि सुझाब दिएका थिए । अयोध्यापुरीलाई राम जन्मभूमिका रूपमा विकास गर्न बजेटको कुनै कमी हुन नदिने आश्वासन प्रधानमन्त्री ओलीले दिएका थिए ।

माडी नगरपालिकाको २२ भदौ ०७७ मा बसेको बैठकले वडा नम्बर ९ स्थित रिउ खोला र घाँघर खोलाको दोभान (कृष्णनगर पार्क) मा एक सय बिघामा फैलिएको जमिन अयोध्याधामका लागि प्रस्ताव गरेको थियो । त्यस क्षेत्रको भौतिक पूर्वाधार विकास गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्राविधिक कारणले यो जमिन अनुपयुक्त देखिएमा वैकल्पिक रूपमा माडी– ८ स्थित दक्षिण अयोध्यापुरी क्षेत्रको करिब ५० बिघा जमिनसमेत नगरपालिकाले प्रस्ताव गरेको थियो । माडी– ९ को गणेशगुञ्ज, माडी– ७ को देवेन्द्रपुर शनि मन्दिर नजिकको क्षेत्र र माडी– १ को पाण्डवनगर क्षेत्रलाई अन्य धाम तथा पार्कका लागि प्रस्ताव गरेको थियो । तर, यस विषयमा मन्त्रिपरिषद्बाट हालसम्म कुनै निर्णय भएको छैन । मन्त्रिपरिषद्बाट यी विषयमा निर्णय गर्नुको साटो नगरपालिकासँग समन्वय समेत नगरेको माडीका मेयर ठाकुरप्रसाद ढकालले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७