घुमाइफिराइ ‘ताजा जनादेश’


७ बैशाख २०७८, मंगलवार
kp oli 20210419163111

काठमाडौं, ७ बैसाख । धेरैलाई चासो छ– राजनीति अब कता जान्छ ? एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सेरोफेरो घुमेको राजनीतिको भविष्य धेरै हदसम्म उनकै निर्णयमा निर्भर छ । र, जिज्ञासा राख्नेहरूको प्रश्न यो पनि छ– प्रधानमन्त्रीले के गर्लान् ?

एमाले महाधिवेशन आयोजक समितिको सोमबारको बैठकमा अध्यक्ष ओलीले ‘ताजा जनादेशमा तयार रहन’ कार्यकर्तालाई निर्देश गरे । उनको राजनीतिक प्रतिवेदन ‘चुनाव तयारीको दस्तावेज’सरह थियो। ‘प्रतिनिधिसभाको वर्तमान संरचना सरकारलाई असहयोग गर्न र यसलाई सहज ढंगले चल्न नदिन पर्याप्त छ । तर, वैकल्पिक सरकार दिन र देश र जनताको हितमा काम गर्न दिन प्रतिनिधिसभा सक्षम देखिएको छैन । यस्तो स्थिति लामो समयसम्म रहिरहनु उचित हुँदैन’, अध्यक्ष ओलीको प्रतिवेदनमा लेखिएको छ, ‘यस्तो विरोधाभासको विकल्प दुईवटा मात्रै हुन सक्छन्– कि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूका बीचमा नीतिमा आधारित दिगो समीकरण बनाउने र संसद्लाई सहज ढंगले चलाउने कि त ताजा जनादेशका लागि अगाडि बढ्ने ।’

प्रधानमन्त्रीको बुझाइमा समीकरणको सम्भावना क्षीण छ । अर्थात्, चुनावकै सम्भावना बलियो छ । ‘वर्तमानमा एमालेलाई बाहिर राखेर बन्ने समीकरण दिगो हुने सम्भावना छैन । त्यसले केही व्यक्तिका सत्ता आकांक्षा पूरा गर्नेबाहेक देश र जनताको पक्षमा सकारात्मक योगदान दिने सम्भावना त झनै छैन । तत्काल नेकपा (एमाले) को नेतृत्वमा अर्को कुनै राजनीतिक दल सहभागी भएर दिगो राजनीतिक निकास खोज्ने सम्भावना पनि बलियो देखिएको छैन’, ओलीले भनेका छन् ।

‘केही व्यक्तिले भने जस्तो ताजा जनादेशमा जानु प्रतिगमन होइन । जनताको बीचमा जानु, सरकारका कामबारे जनतालाई मूल्यांकन गर्ने मौका दिनु र जनताले आवधिक निर्वाचनमार्फत आफूले विश्वास गरेको दललाई सरकार चलाउने जनादेश दिनु नै लोकतन्त्रको विशेषता हो । निर्वाचनमा जाने कुरालाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौमसत्तालाई अस्वीकार गर्नु, नीतिहीन गठबन्धनको बाटो सरकारमा जान जस्केला रोज्नु र जनतालाई अविश्वास गर्नु हो’, ओलीले भनेका छन् ।

ओलीले परिवर्तित सन्दर्भमा पार्टीको सुदृढीकरण तथा शुद्धीकरण, समृद्धिको अभियान र नयाँ निर्वाचनको तयारी गरी तीन कार्यभार प्रस्तुत गरेका छन् । पूर्ण कार्यकाल पूरा भए पनि २० महिनाभित्रै नयाँ निर्वाचन हुने अवगत गराउँदै तरल राजनीतिक कारणले छिटो निर्वाचनमा जानुपर्ने सम्भावना बढ्दै गएको उनले औंल्याएका छन् । प्रतिवेदनमा माधवकुमार नेपाल पक्षमा लागेकाहरूको नाम नलिईकन अलमलिएका, भड्कावपूर्ण चिन्तन र गतिविधिमा संलग्न रहेका विशेषण दिइएको छ। तिनलाई पार्टीमा फर्किन आह्वान गरिएको छ ।

‘विगतका तिक्तता बिर्सेर सबैलाई स्वागत गरिनेछ। सबैलाई सम्मानपूर्वक काम दिइनेछ। कसैप्रति पनि पूर्वाग्रह राखिने छैन’, ओलीको प्रतिवदेनमा छ, ‘आउनुस्, एकताबद्ध भएर उच्च मनोबलसाथ अगाडि बढौं। हामी सफल हुन्छौं ।’ प्रतिवेदनमा गुटबन्दीलाई प्रश्रय नदिइने उल्लेख छ । ‘पार्टी विचारमा आधारित संस्था हो । यो गुटहरूको संयुक्त मोर्चा होइन’, प्रतिवेदनमा छ, ‘त्यसैले अब गुटबन्दीलाई कुनै हालतमा प्रश्रय दिइने छैन ।’

आत्मालोचना गरेर आउनेका लागि सम्मानपूर्वक जिम्मेवारी दिने निर्णय भएको नेता लक्ष्मण ज्ञवालीले बताए । नेता ज्ञवालीका अनुसार अध्यक्ष ओली बैठकमा नेपाल पक्षप्रति आक्रामक भएका थिए। प्रतिवेदनमा त्यसको प्रतिविम्ब देखिन्छ । विगतमा अधिकांश समय नेता व्यवस्थापनमा खर्च भएको भन्दै अब बढीभन्दा बढी जनताको समस्यामा केन्द्रित हुने प्रतिवेदनमा उल्लेख छ ।

सही विचार, सही धार र नेतृत्वलाई समाप्त पार्ने योजनाअनुरुप प्रतिक्रियावादीसँगको साँठगाँठमा प्रधानमन्त्री, मुख्यमन्त्री र अन्य संस्था उल्ट्याउने कोसिस भइरहेको प्रतिवेदनमा उल्लेख छ । यसलाई श्रमजीवी वर्गको सरकार ढलाएर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरणको षडयन्त्रका रूपमा लिइएको छ । पार्टीको काम केन्द्रबिन्दु सामाजिक आर्थिक रुपान्तरण र समृद्धि भएको अध्यक्षको प्रतिवेदनमा छ । बैठकमा राजनीतिक प्रतिवेदनका साथै सांगठनिक प्रतिवेदन पेस गरिएको छ । १० गते पुनः बस्ने गरी बैठक स्थगन भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

प्रतिवेदनमा सरकारका तीन वर्षमा गरेका कामको विवरण प्रस्तुत गरिएको छ । तिनमा संविधान कार्यान्वयन र संघीयताको सुदृढीकरण, पृथकतावादी र हिंसात्मक द्वन्द्वको अन्त्य, विकासशील देशमा स्तरोन्नति र आशालाग्दो आर्थिक वृद्धि छन् । यस्तै, महत्वपूर्ण सूचकांकमा उत्साहजनक प्रगति, भरपर्दो बाह्य सम्बन्ध, नयाँ नक्सा प्रकाशन, सविधान संशोधन र सगरमाथाको उचाइ घोषणा, दीर्घकालीन महत्वका पूर्वाधार निर्माण, उदाहरणीय पुनर्निर्माण तथा आवास कार्यक्रम, ऊर्जा उत्पादन, वितरण तथा सिँचाइलगायत छन् ।

‘रवैयाका कारण पुनः एकीकरण भएन’ प्रतिवेदनमा पुष्पकमल दाहाल र माधवकुमार नेपालको रवैयाका कारण पुनः एकीकरण नभएको उल्लेख छ । ‘अदालतले एकीकरणको ढोका भने बन्द गरेको थिएन । उसले एकीकरण गर्ने भए प्रचलित कानुनअनुकूल हुने गरी रीत पु¥याएर अगाडि बढ्न भनेकै थियो । निर्वाचन आयोगले १५ दिनको समयसीमासहित पत्राचार गरेको थियो’, प्रतिवेदनमा छ, ‘हाम्रो पार्टीका तर्फबाट प्रचण्डलाई यस सम्बन्धमा छलफल गर्न आग्रह पनि गरिएको थियो । तर, नेकपा (माके)को रवैया र त्यसका कृयाकलापका कारणले पार्टी एकीकरणको सम्भावना रहेन ।’

‘नेपाल पक्ष विभाजनकारी बाटोमा’
नेपाललगायत नेता उल्टो र विभाजनकारी बाटो हिँडिरहेको प्रतिवेदनमा उल्लेख छ । ‘फागुन २३ पछि पनि प्रचण्डलगायत नेताहरूसँग बारम्बार गोप्य बैठक गर्ने, पार्टीविरुद्ध षड्यन्त्र गर्ने, गुटगत भेला र बैठक गर्दै नेकपा (एमाले) मा फर्केर केपी ओलीलाई परास्त गर्नेजस्ता निर्णय गर्ने, बैठकमा सहभागी हुन गरिएको आह्वानलाई बेवास्ता गर्दै समानान्तर गतिविधि गर्दै पार्टी विभाजनको आधार तयार गर्ने अभ्यास जारी छन्’, प्रतिवेदनमा छ, ‘फागुन २८ गतेको केन्द्रीय कमिटीको विशेष बैठक अदालतबाट पुनःस्थापित पार्टीलाई व्यवस्थित गर्ने, विधानका बाधाहरू हटाउने, प्रतिकूल अवस्थामा पार्टी नेतृत्वका पक्षमा दृढतापूर्वक उभिने पूर्वमाओवादी केन्द्र पृष्ठभूमिका कमरेडहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने एवं विगतमा पार्टी एकता र नेतृत्वका विपक्षमा उभिएका साथीहरूलाई गल्ती सच्याएर पार्टीमा क्रियाशील हुन आह्वान गर्नेजस्ता सकारात्मक निर्णयमा केन्द्रित थियो ।

तर, उहाँहरू यसै बैठक र यिनै निर्णयहरूलाई विरोध गरिरहनुभएको छ । चैत २ गते माधव नेपाललगायत नेताहरूलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएर हामीले विगतका कमीकमजोरीहरूप्रति आत्मालोचना गर्न, पार्टीमा गुटगत गतिविधि स्वीकार्य नगर्न र एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका थियौँ । उहाँहरूका विगतका गल्तीलाई बिर्सन र एकताबद्ध भएर अगाडि बढ्न तयार रहेको हाम्रो सन्देश पार्टी एकताका लागि महत्वपूर्ण आधार थियो । तर, उहाँहरूले यसलाई बेवास्ता गर्नुभयो ।

भोलिपल्ट प्रधानमन्त्रीले आयोजना गरेको चियापान बहिष्कार गर्नुभयो र पार्टीको स्पष्ट निर्देशनविपरीत पार्टीकै ब्यानरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नुभयो। पार्टी संरचना र जनसंगठनमा समानान्तर कमिटी निर्माण गर्ने र पार्टी नेतृत्वविरुद्ध निरन्तर भ्रम प्रचार र विरोध अभियान चलाउने यस्ता गतिविधि गरेर उहाँहरूले पार्टी र आन्दोलनमाथि गम्भीर आघात पु¥याइरहनु भएको छ ।

कुण्ठाग्रस्त, व्यक्तिविरोधमा केन्द्रित, सत्तास्वार्थले निर्देशित र पार्टीलाई विभाजन गर्दै सतहमा माओवादी केन्द्रलाई र सारमा कम्युनिस्टविरोधी शक्तिहरूलाई बल पु¥याउने यस्ता गतिविधि स्वीकार्य हुँदैनन् । यस्ता प्रवृत्तिको खण्डन, आलोचना र विरोध गर्दै अलमलमा पर्नुभएका साथीहरूलाई पार्टीको मूलधारमा एकताबद्ध गर्न सचेतन प्रयास गरिनुपर्छ । यस्ता विभाजनकारी गतिविधिमा संलग्न मुख्य नेताहरूलाई कारबाही गरेर पार्टीले यसको स्पष्ट संकेत पनि गरिसकेको छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७