मोटरसाइकल चोरी आरोपमा तीन युवक पक्राउ


७ बैशाख २०७८, मंगलवार
chor BaHUS7aT0H

काठमाडौं, ७ बैसाख । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित पैयुँटारबाट मोटरसाईकल चोरीको आरोपमा तीन युवक पक्राउ परेका छन् । मोटरसाईकल चोरीमा संलग्नलाई सो नगरपालिकाको वडा नम्बर–१० बाट ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्रेको हो ।

पक्राउ पर्नेमा नुवाकोट घर भएका २० वर्षीय नमराज अधिकारी, २२ वर्षीय रामचन्द्र अधिकारी र १९ वर्षीय रामचन्द्र थापा छन् । तारकेश्वर नगरपालिकामा बस्ने उनीहरुले चैत २७ मा बा.९५प ३३३५ नम्बरको पल्सर मोटरसाईकल चोरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नुवाकोटका राजु तामाङले मोटरसाईकल हराएको निवेदन दिएपछि महाशाखाले अनुसन्धान गरेर आरोपीहरुलाई पक्राउ गरेको हो । चोरेपछि वास्तविक नम्बर परिवर्तन गरेर उनीहरुले नयाँ नम्बर प्लेट राखेर सो मोटरसाईकल चढेर हिँडेका थिए । मंगलबार पक्राउ गरेर उनीहरुविरुद्ध चोरी मुद्दामा थप अनुसन्धान गर्न प्रहरी वृत्त गौशालामा पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७