नेपाल–खनाल पक्षले बोलायो सांसदहरुको बैठक


७ बैशाख २०७८, मंगलवार
Madhav jhalanath1

काठमाडौं, ७ बैसाख । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आफ्नो पक्षका सांंसदहरुको बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा शुरु हुनेछ ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित केन्द्रका २७ र प्रदेशका पाँच सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । ओलीले स्पष्टिकरण सोध्ने तयारी गरेपछि आवश्यक रणनीति बनाउन वैठक बोलाइएको हो ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे लगायत २७ सांसदलाई सो स्पष्टीकरण सोधिएको हो । ओलीले संसदीय दलको विधान २०६६ विपरीत सरकार विरुद्ध क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोधेका छन् । सोमबार नेपाल पक्षका सांसदलाई तीन पृष्ठको पत्र पठाउँदै ओलीले ४ बुँदे प्रश्न सोधेका छन् । ओलीले पठाएको स्पटीकरणमा थप गतिविधि जारी राखे जुनसकैबेला थप कारवाही गर्ने भन्दै सचेत गराएका छन् ।

‘तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने? आधार कारण सहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्नुहुन निर्देशन गर्दछु,’ ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ, ‘तपाईलाई सच्चिनको लागि यो अन्तिम मौका दिन यो स्पष्टीकरण पत्र लेखिएको छ ।’

पूर्व प्रधानमन्त्रीद्वय नेपाल, खनाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, मुकुन्द नेउपाने, रामकुमार झाँक्री, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झपट रावल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, गणेश पहाडी, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मी चौधरी, सरला यादव, कृष्णलाल महर्जन र निरादेवी जैरुलाई सो स्पष्टीकरण पत्र पठाइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७