सिटिजन्स बैंक पन्ध्रौं वर्षमा, पहिलो वर्ष २ अर्ब प्रवाह भएको कर्जा अहिले पुग्यो १ खर्ब २९ अर्ब


७ बैशाख २०७८, मंगलवार
logo12 scaled

काठमाडौं, ७ बैशाख । वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ मिति २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ।

५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना भएको यस बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। बैंकले यस अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ। त्यसैगरी पछिल्लो समयमा सृजना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ।

बैंक स्थापना भएको वर्ष समाप्तीमा १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७र७८ को चैत्र मसान्तसम्म आइपुग्दा बैंकको कुल निक्षेप करिव १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिव १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि भएको छ। बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्ब भन्दा माथि रहँदै आएको छ। गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिव १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ।

स्थापनाको पहिलो वर्ष ९ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाहरुबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैयमाससम्ममा थप ७४ वटा शाखाहरू विस्तार गरिसकेको छ।

बैंकिङ्ग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंकले स्थापना कालदेखिनै पहल कदमी गरिसकेको थियो। २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केही उदाहरणहरु हुन्।

वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धन तथा संघीयतालाई दह्रो र सहज बनाउन सरकारले अवलम्बन गरेको सबै नेपालीको बैंक खाता भन्ने नीतिलाई आत्मसाथ गर्दै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा पनि शाखाहरू विस्तार गर्दै आएको छ।

स्थापना कालदेखिनै कर्मचारीलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको यस बैंकको थालनी हुँदा ४४ जना कर्मचारी रहेकोमा हाल यस बैंकसँग १ हजार ६ सय जना कर्मचारी आबद्घ छन्। यसै सिलसिलामा बैंकमा निरन्तर दुई कार्यकाल पुरा गरी सञ्चालक समितिमा योगदान पुर्‍याएका सञ्चालक तथा बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको छ।

‘भित्र सिस्टम र बाहिर इमेज’को नारालाई अंगिकार गरेको यस बैंकमा आउने सेवाग्राहीलाई पहिला नमस्तेका साथ अभिनन्दन गर्दै सेवा प्रवाह गर्ने प्रचलन छ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रमलाई आत्मसाथ गर्दै बैंकले १११ वटा स्थानबाट एटिएम सेवा प्रदान गर्दै आएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ।

चौधौं वर्षको अवधिमा आउँदा मोबाइल बैंकिङ्ग सेवाको उपयोग गर्ने ग्राहक संख्या ३४४,१८३ पुगेको छ। सिटिजन्स बैंकको ई बैंकिङ्गको प्रयोगकर्ता २३,६६० पुगेको छ भने सिटिजन्स डेबिट तथा क्रेडिट कार्डधारकको सङ्ख्या १७९,७४० रहेको छ।

बैंकका डेबिट, क्रेडिट रप्रिभिलेज कार्डवाहकले विभिन्न प्रकारको सेवा सुबिधा लिंदा विशेष छुटको प्रबन्ध मिलाईएको छ। जसका निम्ति बैंकले हालसम्म १३७ वटा विभिन्न क्षेत्रका सेवा प्रदायकहरुसँग विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

नेपालका विभिन्न सेवा प्रदायकहरु सँग सहकार्य गर्दै आएको यस बैंकले हालसालै भारतको मेदान्त मेडिसिटी अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहक महानूभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

खुद्रा लेनदेन र किनमेललाई सहज,सरल र झन्झटरहित बनाउनका खातिर यस बैंकले बैंकले विभिन्न तरकारी बजार, फलफूल बजार, ससाना किराना पसलहरु, पान पसल, पेट्रोल पम्प आदि जस्ता स्थानहरुमा ५,३१९ वटा क्यूआर कोड तथा ४४० वटा पोस मेसिन वितरण गरेर खुद्रा लेनदेनलाई सहज बनाउन एक परिष्कृत कार्ययोजनाका साथ द्रुत गतिमा कार्य गर्दै आई रहेको छ । आगामी दिनमा डिजिटल सेवाको विकासमा अझै आक्रामक रूपमा प्रस्तुत हुने बैंकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७