तिलगंगाले विश्वका १० लाख मानिसको मोतीबिन्दु शल्यक्रिया गर्ने

विश्वबाट अन्धोपन हटाउन डा. सन्दुक रुइत र बेलायती अर्बपति तेज कोहलीको सहकार्य


८ बैशाख २०७८, बुधबार
sundik2021 04 21 06 03 29

काठमाडौं, ८ बैसाख । तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतले बेलायती अर्बपति तेज कोहलीसँगको सहकार्यमा विश्वका १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच डा. सन्दुक रुइत–तेज कोहली फाउन्डेसन घोषणा गरिएको छ । फाउन्डेसनले नेपालसहित भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरियालगायत मुलुकमा अन्धोपन निवारणका लागि काम गर्ने रुइतले जानकारी दिए ।

‘हामीले उपलब्ध गराउने सेवा विश्वका धेरै नागरिकको पहुँचमा पुर्‍याउन आवश्यक छ,’ रुइतले भने, ‘कोहलीसँगको सहकार्यमा हामीसँग यसका लागि आवश्यक विशेषज्ञता मात्रै होइन, स्रोत र उत्साह पनि हुनेछ ।’

बेलायती परोपकारी अर्बपति तेज कोहलीले पनि विगतदेखि नै अन्धोपन हटाउने अभियानमा काम गरिरहेका छन् । डा. रुइतसँगको सहकार्यमा मोतीबिन्दुबाट दृष्टिविहीन बनेका विश्वभरका १० लाख मानिसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको कोहलीले बताए । ‘कसैलाई पुनर्दृष्टि दिनु उसलाई दोस्रो जीवन प्रदान गर्नु बराबर हो, जसले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउँछ, परिवारको हेरचाह गर्न सक्ने तुल्याउँछ,’ कोहलीले भिडियो सन्देशमा भने ।

पाँच वर्षभित्र चार लाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य
फाउन्डेसनले सन् २०२६ भित्रै चार लाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । पहिलो दुई वर्षमा मात्रै डेढ लाख मोतीबिन्दु शल्यक्रिया गरिने पनि फाउन्डेसनले जनाएको छ । यो कार्यक्रमअन्तर्गत नेपालको लुम्बिनी, सोलुखुम्बु, गेटा आँखा अस्पताल धनगढी, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, राप्ती आँखा अस्पताल, दाङ, फत्तेवाल आँखा अस्पताल बाँके, जानकी आँखा अस्पताल जनकपुर र सुर्खेत आँखा अस्पतालमा गरी दुई हजारजनाको शल्यक्रिया भइसकेको जनाइएको छ ।

‘हामीले अहिल्यै नेपालमा वार्षिक ३० हजार र भारतलगायत दक्षिण एसियामा गरी ८० हजार बिरामीको शल्यक्रिया गर्ने प्रण गरेका छौँ,’ डा. रुइतले भने, ‘फाउन्डेसनको लक्ष्य भनेकै लाखौं विपन्नको उपचार गरी पुनज्र्योति प्रदान गर्नु हो ।’

यसले धनी र गरिबबीच उपचारमा हुने विभेद अन्त्य गर्ने लक्ष्य लिएको पनि कार्यक्रममा जानकारी दिइयो । यो कार्यक्रम जहाँ–जहाँ सञ्चालन हुन्छ, ती स्थानमा स्थानीय प्राविधिकलाई प्रशिक्षण दिएर स्थायी सामुदायिक अस्पतालको सञ्जाल विस्तार गर्ने लक्ष्य समेत लिइएको छ ।

हाल विश्वमा अन्धोपनको प्रमुख कारण मोतीबिन्दु हो । हाल विश्वका नौ करोड जनसंख्यालाई मोतीबिन्दुको समस्या देखिएको छ । त्यसमध्ये दुई तिहाइ मानिस मोतीबिन्दुको शल्यक्रियाको पहुँच नभएका गरिब देशमा बसोवास गर्छन् । शल्यक्रियाको पहुँच नभएको समुदायमा कार्यक्रम विस्तार गरिने कोहलीले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७