बादल र बर्षमानको गृहमोहले अप्ठ्यारोमा प्रचण्ड


११ फाल्गुन २०७४, शुक्रबार
gr

काठमाण्डौं, ११ फागुन : नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बल्ल–तल्ल मन्त्रालय बाँडफाँडको विवाद टुङ्ग्याएका माओवादी केन्द्रका अध्यक्ष अर्को तनावमा फसेका छन् ।gr

प्रचण्डलाई बाहिरबाट नभई आफ्नै नेताहरुका कारण तनावको अवस्था सिर्जना भएको छ । पार्टी अध्यक्षको हैसियतले नमिलाई पनि नहुने मिलाउँदा ‘काखी च्यापेको र पाखा लगाएको’ बात लाग्न सक्ने अवस्थाले प्रचण्ड अहिले धर्मसंकटको अवस्थामा पुगेका छन् । माओवादीका शीर्ष नेता र अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र रामबहादुर थापा बादल र वर्षमान पुनले गृह मन्त्रालयको दाबी नछोडेपछि प्रचण्ड अप्ठेरोमा परेका छन् । बिहीबार साँझ करीब ६ घण्टा बसेको हेडक्वाटर बैठकमा दुवै नेताले गृह मन्त्रालयको दाबी नछोडेपछि माओवादीका मन्त्रीको टुंगो लाग्न सकेको छैन ।

शीर्ष तहका नेताहरुले नै गृहमन्त्रीमा आकांक्षा देखाएपछि माओवादीभित्र मन्त्री छनोटको विषय पेचिलो बनेको बन्दै गएको स्वयम् नेताहरु नै बताउँछन् । थापालाई उपप्रधान तथा अन्य मन्त्रालय दिएर सरकारको नेतृत्व दिन नेता पुनले अध्यक्ष दाहाललाई शुरुमा दबाब बढाए पनि त्यो थापाले स्वीकार गरेका छैनन् । यता प्रधानमन्त्री केपी ओली र दाहालबीच सकभर उपप्रधानमन्त्री नराखी मन्त्री बनाउने सहमति भएकाले पनि थापालाई गृहमन्त्री दिनु बाहेकको विकल्प प्रचण्डसँग छैन । यसो गर्दा विश्वास पात्र वर्षमानलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा प्रचण्ड छन् । माओवादीभित्र गृह मोहमा नेताहरूको आन्तरिक द्वन्द्वले पनि प्रभाव पारेको नेताहरू स्वीकार्छन् । थापा विगतमा रक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कारण यस पटक गृह आफूले लिएर सरकारको नेतृत्व पार्टीका तर्फबाट गरेर जान चाहन्छन् ।

पुन थापालाई अन्य मन्त्रालयमा अचेटेर आफैं गृहमन्त्री हुने लबिङमा छन् । उता गृहकै दाबी गरिरहेका अर्का नेता तथा पूर्व गृहमन्त्री जर्नादन शर्मा भने पुनलाई गृहमा रोक्ने तयारीमा थापालाई स्वीकार्ने पक्षमा उभिएपछि माओवादीभित्रको गृह लफडा रोचक बन्न थालेको छ । पुन गृह आफूले नपाए सरकारमै सहभागी नहुने पक्षमा देखिएका छन् । पुन र थापा दुवै अध्यक्षका विश्वास प्राप्त नेता हुन् । सक्रिय जनीतिकालदेखिकै साथी थापासँग दाहाल सम्बन्ध चिस्याउन चाहँदैनन् । पुन अहिले दाहाललाई सहयोग गर्ने नजिकका नेतामध्येमा पर्छन् ।

माओवादी स्रोतका अनुसार, पुनले आफूले गृह नपाए संघीय संसद् (प्रतिनिधिसभा) को सभामुखमा श्रीमती तथा पूर्व सभामुख ओनसरी घर्तीलाई दोहो¥याउनु पर्ने लबिङमा छन् । तर, सभामखुमा माओवादीभित्रै नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र अग्नि सापकोटाको नाम पनि आउन थालेपछि पुनले गृहमै अडान लिइरहेका छन् । गृह मन्त्रालयमा नेताहरूको मोह देखिनुमा यसभित्रको स्रोत साधान परिचालनदेखि सेवा सुविधा नै प्रमुख कारण हो । गृहको आकर्षण भनेकै प्रहरी परिचालन, जिल्लाका सीडीओ परिचालन, दैनिक लाखौं रुपैयाँसम्म सुरक्षाका नाममा खर्च गर्न पाउने, आर्थिक सहायता दिने अधिकार राख्नेदेखि अरू मन्त्रालयको क्षेत्राधिकार नपरेका क्षेत्रसमेत हेर्न पाउने भएकाले गृहमा नेताहरूको मोह देखिनु स्वाभाविक हो ।

अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले नै अब मन्त्रीहरूको नाम छनोट गर्नेछन् । ‘सात वटै प्रदेश पनि समेटिने, नयाँ र पूराना तथा अनुभवीलाई पनि स्थान दिनेगरी तीन नेताले मन्त्रीको नाम टुंगो लगाउनु हुनेछ,’ माओवादी नेता देव गुरुङले भने । अन्य मन्त्रालय र मन्त्री मिलाउन सहज भए पनि माओवादीको गाँठो गृहमै अड्कीएपछि अन्य मन्त्रीको समेत टुंगो लागेको छैन । बिहीबारको हेडक्वाटर बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको छ । एमालेले मन्त्रीको नाम टुंगो लगाएलगत्तै प्रचण्डले मन्त्रीको नाम टुंगो लगाउने बुझिएको छ । गृहको यही मोह देखेर नेताहरूलाई मिलाउन नसक्दा बिहीबार बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले मन्त्रीहरूको टुंगो लगाउन सकेन । बिहीबारको बैठकमा नेताहरूको रुची मुखरित हुन थालेपछि बैठकले मन्त्री छान्ने जिम्मा मुख्य तीन नेतालाई दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७