यस्तो भयो बागबण्डा : एमालेलाई राष्ट्रपति, माओवादीलाई सभामुख


११ फाल्गुन २०७४, शुक्रबार
bam gathabandhan

काठमाण्डौं, ११ फागुन : पार्टी एकीकरणको सम्झौता गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राष्ट्रपति र सभामुखको भागबण्डा के होला ? भन्ने अनुमान चलिरहेका बेला दुई दलले यो विवाद किनारा लगाएका छन् ।bam gathabandhan

एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । नेताहरुका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष लिनेछ ।

एमालेले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर सभामुख आफूलाई दिन प्रस्ताव गरेको छ । संविधानसभाका तत्कालीन अध्यक्ष एवम् पूर्व सभामुख सुवास नेम्वाङलाई फेरि सभामुख बनाउने एमाले अध्यक्ष ओलीको प्रस्ताव थियो । तर, माओवादीले मानेको छैन । ‘व्यक्तिगत रुपमा उहाँ राम्रो र योग्य उम्मेदवार हो’ माओवादीका एक नेताले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीसँगै सभामुख पनि एमालेलाई दिन सकिंदैन, त्यसैले सभामुख हामीले लिने कुरा भएको छ ।’ माओवादीमा सभामुखको प्रमुख दाबेदारका रुपमा कृष्णबहादुर महरालाई हेरिएको छ । यद्यपि मधेसी दलहरुलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेकाले उनीहरुसँग सहमति भएको अवस्थामा केही हेरफेर हुन सक्ने नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७