दावा लामा विमानस्थलमै पक्राउ, दिसाबाट निकालियो खैरो हेरोइनका ९३ क्याप्सुल


९ बैशाख २०७८, बिहीबार
lagu aausad

काठमाडौं, ९ बैसाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका दावा लामाको दिसाबाट प्रहरीले ९३ वटा खैरो हेरोइनका क्याप्सुल निकालिएको छ ।

गत चैत २६ गते एयर अरेवियाबाट सारजाह हुँदै नेपाल आएका धादिङको खनियाबास गाउँपालिका–१ का ४९ वर्षीय दावा लामा विमानस्थलबाटै पक्राउ परेका थिए । उनले खैरो हेरोइनका क्याप्सुल निलेर आएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ लगतै उनलाई प्रहरी अस्पतालमा लगेर सिटिस्क्यान गर्दा पेटमा क्याप्सुलहरु देखिएको थियो । त्यसपछि उनलाई दुई दिनसम्म अस्पतालमै राखिएको ब्युरोका एसपी ऋषिराम कँडेलले जानकारी दिए ।

२८ गतेसम्ममा उनको दिसाबाट ९३ वटा क्याप्सुल निस्किएको र तौल गर्दा ९०० ग्राम भएको लागुऔषध नियन्त्रण व्युरोले जनाएको छ । उनको साथबाट अमेरिकन डलर ३०० पासपोर्ट र हवाइटिकट पनि बरामद गरेको थियो । उनको साथबाट बरामद भएको लागुऔषधको मूल्य करिव ९० लाख रुपैयाँ रहेको ब्युरोले जनाएको छ ।

दावा यसअघि २०६५ चैत ३० गते सेतो हेरोइनसहित पक्राउ परेका थिए । त्यतिबेला उनीसहित ६ जना नेपाली र ३ जना विदेशी पक्राउ परेका थिए । उक्त मुद्दामा ५ वर्ष कैद भुक्तान गरेर छुटेका दावा त्यसपछि पनि लागुऔषध कारोबारमा संलग्न रहेको पाइएको हो ।
उक्त खैरो हेरोइन कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले धादिङको सत्यदेवीकी ५९ वर्षीया काइली, माया, फूलमाया, कालिमाया, देविमायाँ भन्ने गोपी तामाङ, धादिङ रुवी भ्याली ३ सेर्तुङकी ४५ वर्षीया होनी माया तामाङनी र लम्जुङका ५२ वर्षीय वुद्दिबहादुर गुरुङलाई पनि पक्राउ गरेको छ ।

गोपी पनि २०६५चैत ३० गतेको मुद्दामा र बुद्दि २०६९ भदौ ३ गते पक्राउ परेको लागुऔषध मुद्दाका फरार अभियुक्त हुन् । उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७