आफन्तले बाल संगठनमा बुझाएका बालक १५ वर्षदेखि बेपत्ता

नौ सयभन्दा धेरै बालबालिकाको अवस्था अज्ञात


१० बैशाख २०७८, शुक्रबार
Pokal.jpg .2021 04 23

काठमाडौं, १० बैसाख । आफन्तले नेपाल बाल संगठनमा बुझाएका एक बालक १५ वर्षदेखि बेपत्ता छन् । खोजबिनका लागि आफन्तले निरन्तर धाउँदा पनि बालकको अवस्था पत्ता लगाउन सकेका छैनन् ।

ओखलढुंगाको तत्कालीन बर्नालु गाविस– ५ (हाल सिद्धिचरण नगरपालिका– ५) स्थायी घर भएका पोकलप्रसाद दाहाल बाल संगठनबाटै बेपत्ता भएका हुन् । संगठनले उनलाई एक भारतीयको जिम्मा लगाइएको बताए पनि ती व्यक्तिसँग बालकका आफन्तको सम्पर्क गराउन सकेको छैन ।

संगठनका तत्कालीन कर्मचारीले ०६३ मा पोकलप्रसादलाई भारतको मुम्बई बस्ने धीरजकुमार कोछरको जिम्मा लगाएका थिए । प्रक्रिया नै पूरा नगरी बालक बुझाइएकाले अहिले आफन्तको सम्पर्क हुन नसकेको हो । ‘०६३ सालदेखि नै भान्जा खोज्न पटक–पटक बाल संगठनमा आएको छु, तर विभिन्न बहाना गरेर सम्पर्क नै गर्न दिइएको छैन,’ पोकलप्रसादका मामा उमाकान्त दाहालले भने, ‘हामीलाई जानकारी नै नदिई कसरी विदेशी नागरिकलाई हाम्रो मान्छे बुझाइयो ?’

पोकलप्रसादलाई १५ जेठ ०६० सालमा बाल संगठनमा भर्ना गरिएको थियो । बाल संगठन टुहुरा बालबालिकाको संरक्षण र शिक्षा दिने सरकारी निकाय हो । संगठनको १५ जेठ ०६३ को निर्णयअनुसार पोकलप्रसादलाई स्थानीय अभिभावकको रूपमा भारतीय नागरिक कोछरलाई १६ वर्षसम्मका लागि भनेर जिम्मा लगाइएको थियो । त्यतिवेला उनी पाँच वर्षका थिए । त्यसरी विदेशीलाई बच्चा दिन मिल्ने प्रावधान नभएकाले बच्चाको बिक्री गरिएको हुन सक्ने आशंका आफन्तले गरेका छन् ।

संगठनका पूर्व कार्यकारी निर्देशक बालकृष्ण डंगोलले दाहाललाई भारतीय नागरिक कोछरलाई बुझाइएको भनेर लिखित पत्र मामा उमाकान्तलाई ०६३ सालमै दिएका थिए । त्यसयता पटक–पटक भान्जा खोज्न संगठनमा आउँदा कहिले परीक्षा भएको भनेर त कहिले अर्काे वर्ष नेपाल आउने भनेर आफूलाई झुलाइएको उमाकान्तले बताए । ‘पढाइ सकेपछि नेपाल आउँछ भनेर पर्खाउने काम भयो, तर अझै पनि कुनै जानकारी छैन,’ उनले भने । तत्कालीन कार्यकारी निर्देशक डंगोलले नै आफूलाई त्यसरी झुक्याएको उनको भनाइ छ । उनले हाल संगठनमा भान्जा उपलब्ध गराइदिन भन्दै निवेदन दिएका छन् ।

उनको निवेदनका आधारमा पोकलप्रसादको खोजीका लागि बाल संगठनको नयाँ नेतृत्वले पहल थालेको छ । बालकको मामाको निवेदनका आधारमा आफूहरूले यसबारे प्रहरीलाई पत्राचार गरेको संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताइन् ।

संगठनले बालकको खोजीका लागि बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । प्रहरीसँगको समन्वय गरी बालकको अवस्थाबारे पत्ता लगाइने संगठनका महासचिव समिक बडालको भनाइ छ । ‘यो गम्भीर विषय हो,’ बडाल भन्छन्, ‘कसरी आफन्तलाई जानकारी नै नदिई बालक भारतीय नागरिकलाई बुझाइयो, हामी छानबिन गर्दै छौँ ।’

पोकलप्रसादको आमाको मृत्यु भएको र बुबा बेपत्ता भएको आधारमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको सिफारिसका आधारमा संगठनले भर्ना गरेको थियो । संगठनमा बसेको तीन वर्षमा उनलाई भारत पठाइएको थियो । हाल उनी २० वर्षका भइसकेका छन् । यसरी विदेश पठाउँदा धर्मपुत्र–पुत्रीका रूपमा मात्र पठाउन पाइन्छ । तर, त्यो प्रक्रिया नै पूरा नगरी उनलाई भारतीय नागरिकलाई बुझाइएको थियो ।

नौ सयभन्दा धेरै बालबालिकाको अवस्था अज्ञात

पोकलप्रसाद जस्तै संगठनमा भर्ना भएर विदेश गएका नौ सयभन्दा धेरै बालबालिकाको अवस्था अज्ञात छ । सरकारले गठन गरेको छानबिन आयोगले धेरै बालबालिका बिक्री भएको हुन सक्ने औंल्याएको थियो ।

बाल संगठनमा भएको अनियमितताबारे सरकारले उच्च अदालतका पूर्व न्यायाधीश हरिबहादुर भट्टराईको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । आयोगले धर्मपुत्र–पुत्रीका रूपमा विदेश पठाउँदा समेत अनियमितता गरेकाले थप अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोहीअनुसार आयोगको प्रतिवेदनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरिरहेको छ ।

छानबिनको क्रममा नौ सय ६७ बालबालिकाको अभिलेख नै नराखी विदेश पठाइएको उल्लेख छ । धर्मपुत्र–पुत्रीको विषयमा सहयोग गर्ने नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय संस्था एचसिसिएचको तथ्यांकअनुसार सन् २००१ देखि ०१८ सम्म एक हजार नौ सय एक बाालबालिका विभिन्न देशमा पठाएको छ । तर, संगठनको तथ्यांकमा नौ सय ३४ जनालाई मात्र पठाइएको तथ्यांक राखिएको छ ।
बाँकी नौ सय ६७ बालबालिका बिक्री भएको आशंकामा सिआइबीले छानबिन गरिरहेको छ । ब्युरोले संगठनका पूर्व पदाधिकारीमाथि अनुसन्धान गरिरहेको छ । संगठनका बालबालिका बिक्रीको अभियोगमा तत्कालीन कार्यकारी निर्देशक बालकृष्ण डंगोल २१ महिनादेखि जेलमै छन् । बलात्कृत युवतीबाट जन्मेको बच्चा बेलायती नागरिक डोन स्मिथलाई ११ लाखमा बिक्री गरेको अभियोग उनलाई छ ।

आयोगको प्रतिवेदनले कानुनविपरीत धर्मपुत्र–पुत्री विदेश पठाउने र त्यसबापत आउने रकमसमेत अनियमितता गरेको उल्लेख छ । संगठनकी तत्कालीन अध्यक्ष रिता सिंह वैद्य, महिला मन्त्रालयका कर्मचारी, धर्मपुत्र–पुत्रीका लागि परिवार छनोट गर्ने समितिका पदाधिकारी, समितिका सदस्यसचिव र संगठनका अन्य पदाधिकारी र कर्मचारीसँगको मिलेमतोमा संगठनको आर्थिक तथा भौतिक सम्पत्तिको दोहन गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । यस्तो अनियमितता खुलेपछि हाल धर्मपुत्र–पुत्रीका रूपमा बालबालिका विदेश पठाउन रोक लगाइएको छ ।

धर्मपुत्र–पुत्रीको नाममा अनियमितता तथा अन्य अनियमिता भएको ठहर गर्दै आयोगले पूर्वअध्यक्ष वैद्यलगायतलाई कारबाही सिफारिस गरेको थियो । जसउपर हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७