वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी


१० बैशाख २०७८, शुक्रबार
bank

काठमाडौं, १० बैसाख । आर्थिक वर्ष २०७५–७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १ खर्ब ८२ अर्ब ९२ करोड छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजी अंश ४८ दशमलव २, रिजर्भ ४२ दशमलव ८ र कर्जा अंश ९ दशमलव शून्य प्रतिशत छ । रिजर्भ अंश २७ दशमलव शून्य प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार २०७६ असार मसान्तसम्म नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी थियो । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ५६ अर्ब ५ करोड लगानी आएको थियो ।

भारतपछि चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किस्टस एन्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्यान्डबाट ११ अर्ब ५९ करोड र सिंगापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ । नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१ दशमलव १ सेवा र ४८ दशमलव ८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको राष्ट्र बैंकमा अध्ययनमा उल्लेख छ ।

सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७ दशमलव ४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ । औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८ दशमलव ६ प्रतिशत र जलविद्युत् क्षेत्रमा २० दशमलव ० प्रतिशत वैदेशिक लगानी छ । राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी लगानी क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषण आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु–याउने उद्देश्यले स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशनक्रममा प्रतिवेदन सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७५–७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल ५ सय २२ को नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक विश्लेषणका आधारमा प्रत्यक्ष ‘वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५–७६’ तयार पारेको हो ।

सन् २०१९ मा अघिल्लो सालको तुलनामा विश्वमा वैदेशिक लगानी ३ प्रतिशतले वृद्धि भएको थियो । जसमा एसियाले मात्र कुल विश्वको वैदेशिक लगानीमध्ये ३० दशमलव ८ प्रतिशत वैदेशिक लगानी भित्र्याएको तथ्यांक छ । सबैभन्दा बढी वैदेशिक लगानी भित्र्याउनेमा चीन, सिंगापुर र हङकङ रहेको छ । दक्षिण एसियामा सन् २०१९ मा १० प्रतिशतले वैदेशिक लगानी भित्रिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७