एमाले महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै, जाला नेपाल–खनाल पक्ष ?

नेपाल–खनाल पक्षको स्पष्टीकरणबारे छलफल हुने, थप कारवाही गर्ने तयारीमा ओली


१० बैशाख २०७८, शुक्रबार
oli

काठमाडौं, १० बैसाख । पाटीभित्रको विवाद थप पेचिलो बन्दै गएका बेला नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार) बस्दैछ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष र वरिष्ठ नेता नेपालबीचको दुई चरणको वार्ता असफल भएका बेला आज ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेको बैठक बस्न लागेको हो । बैठकअघि ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि समस्या हल गर्ने निकास निस्किनुको सट्टा विवाद झन बढ्ने अवस्था सिर्जना भएको छ ।

वार्ता सफल नभएपछि बैठकमा नेपाल–खनाल पक्ष र वामदेव गौतम सहभागी नहुने संकेत देखिएको छ । ओलीसँग विहीबार भएको भेटमा नेपाल र गौतमले बैठकमा नआउने बताइसकेका थिए । एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आजको बैठकमा नेताहरुको कार्यविभाजन, स्पष्टीकरण सोधिएका नेताहरुले दिएका जवाफलगायत विषयमा छलफल हुने जानकारी दिएका छन् । यस्तै आजको बैठक वैशाख ६ गतेकै निरन्तरता भएको उनको भनाइ छ ।

६ गतेको बैठकले खनाल–नेपाल समूहका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने अध्यक्ष ओलीको तयारी छ । आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल–नेपाल समूहले हिजो सर्वोच्च अदालतमा रिट निवेदन समेत दर्ता गराएको छ ।

यस्तै केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुने बताइएको छ । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७