ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा : वरिष्ठ नेता नेपाल

‘ओलीले कारबाही गर्दैमा पार्टी फुट्दैन’


१० बैशाख २०७८, शुक्रबार
Madhav Kumar Nepal EX PM Nepal scaled

जनकपुरधाम, १० बैसाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताएका छन् ।

आज (शुक्रबार) जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले प्रधानमन्त्री ओलीको भड्काउ चिन्तनले कम्युनिष्ट आन्दोलन धरापमा परेको दावी गरे । पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल हुन नसकेको बताउँदै नेता नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छैन । बालुवा जति पेले पनि तेल निस्किने अवस्था छैन । छलफल र भेटघाटमा ओली आफनो दम्भबाट पछाडि हट्न चाहेनन् ।’

अरुलाई सुन्न तयार नहुने ओलीमा ‘खाए खा नखाए घिच’ प्रवृत्ति रहेको उनले बताए । ‘केपी ओलीको दम्भ कठामाडांैको नव निर्मित धरहराको उकालो चढ्दै छ,’ नेपालले थपे, ‘ओलीको भड्काउ चिन्तले पार्टी, मुलुक, लोकतन्त्र संकटमा परेको छ । ओलीका कारण लोकतान्त्रिक आन्दोलन संकटमा परेको छ ।’

madhav

त्यस्तै पार्टीमा आफू अल्पमतमा परेपछि बाटोमा हिंड्नेलाई समातेर ओलीले केन्द्रीय सदस्य बनाएको नेपालले बताए । ‘अल्पमत परेपछि ओलीले बाटो हिंड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएका छन्,’ नेपालले भने, ‘बटुवालाई केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटार नजिक भएर बटुवा बाटो हिँड्नै छोडे ।’

पार्टीमा बहुमत रहेकोले ओलीले कारबाही गर्दैमा पार्टी नफुट्ने दाबी गर्दै नेता नेपालले नाम र चिन्हभन्दा पनि विचार मूल कुरा हुने बताए । नेकपा एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न राष्ट्रिय कार्यकर्ता भेलामा राजनीतिक प्रस्ताव गरेको बताउँदै नेपालले फागुन २३ पछिका दस्तावेजहरु समेटर अभियान, एकता प्रयास र कारबाहीबारे निकालेको पुस्तकले कार्यकतामा रहेको भ्रम समाप्त हुने बताए । ओलीले गरेका निर्णय फिर्ता नलिएसम्म एकीकृत रुपमा जान नसकिने पनि उनको भनाइ थियो । नेता वामदेव गौतम पार्टी एकता जोगाउनका लागि बिहीबार बेलुकी बालुवाटार गएको तर ओलीले आफ्नो जिद्दी नछाडेपछि गौतम डिनर छोडेर हिँडेको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७