लकडाउनको मौका छोपेर मनोमानी मूल्यवृद्धि


११ बैशाख २०७८, शनिबार
money scaled

बाँके, ११ बैसाख । नेपालगञ्जमा बन्दाबन्दी (लकडाउन) को मौका छोपेर व्यापारीले मनोमानी रुपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा यही वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको छ । बन्दाबन्दीमा सहज र सरल रुपले उपलब्ध गराउनु पर्नेमा व्यापारीले कालोबजारी गरी मूल्यवृद्धि गरेको पाइएको छ ।

नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बन्दाबन्दीको हल्लासँगै प्रत्येक तरकारीमा किलोमा २० देखि ३० रुपैयाँ वृद्धि गरेको पाइएको छ । बन्दाबन्दीअघि प्रतिपाँच केजी रु १२० मा बिक्री भएको आलु अहिले रु २०० तिरेर किन्न बाध्य भएको नेपालगञ्ज १० निवासी उपभोक्ता मङ्गलीमाया श्रेष्ठले बताइन् ।

उनका अनुसार, आलु मात्र नभई, सिमला खुर्सानी, गोलभेंडा, भिण्डी, करेला, बोडी, बन्दालगायतका तरकारीमा पनि बन्दाबन्दीभन्दा चर्को मूल्य तिर्न बाध्य भएका छन् । नेपालगञ्जको बिपी चोकस्थित तरकारी बजारमा पनि तरकारी खरीद गर्न पुगेका उपभोक्ताले पनि यस्तै समस्या झेल्नु परेको छ ।

बन्दाबन्दीको मौका छोपेर अत्यधिक महङ्गो भएपछि तरकारी नै खरीद नगरेर घर फर्किएको नेपालगञ्ज– ६ निवासी गृहणी सिर्जना रानाले गुनासो गरिन् ।

तरकार मात्र नभई खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य सामग्रीमा पनि नेपालगञ्जमा कालोबजारी ह्वात्तै बढेको छ । ग्यास, नून लगायतका अत्यावश्वकीय वस्तुको कालोबजारी गरी महङ्गो दरमा बिक्री भईरहेको रानाले बताइन् । विहान ६ बजेदेखि ९ बजे सम्म दैनिक उपभोग्य सामाग्री खरिदका लागि तोकिएको समयमा पनि उस्तै मनपरी भएको पाइएको छ । सामान्य अवस्थामा भन्दा बन्दाबन्दीको समयमा कालोबजारी हुँदा निम्न वर्गिय, मजदुर र गरिखाने सर्वसाधारण झनै समस्यामा परेका छन् ।

एकै दिनमा मूल्य वृद्धि गर्न नपाइने र स्टक सामाग्रीलाई पनि मुल्य बढाएर बिक्री गर्न नपाइने कानुनी व्यवस्था रहेको भए पनि बन्दाबन्दीमा  आँखा छलेर मुल्य मेटेर सामाग्री बेच्ने गरेको पाईएको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७