नेदरल्याण्डलाई शानदार हराउँदै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि


११ बैशाख २०७८, शनिबार
c11619265184

काठमाडौं, ११ बैसाख । नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखला उपाधि हात पारेको छ । नेपालले शनिबार फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको हो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो ।

नेदरल्यान्ड्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३ विकेट गुमाइ २३८ रन बनाएको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोरको जबाफमा आएको नेदरल्याण्ड्स १७.२ ओभरमा ९६ रनमै समेटियो । नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पारेको हो । नेपालले पछिल्लो पटक घरेलु मैदानमा ११ वर्ष अगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेको थियो ।

नेदरल्याण्ड्सलाई सानो स्कोरमा समेट्ने क्रममा करण केसीले ३ तथा कमलसिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिए । करणले ३ ओभरमा ११ रन खर्चे । कमलले ४ ओभरमा २२ र सन्दीपले ४ ओभरमा २६ रन खर्चेका थिए । नेदरल्यान्ड्सका माथिल्लोक्रमका दुई ब्याट्सम्यान टोबाइस भिसे र बास डे लिडलाई नेपाली फिल्डरले रनआउट गरे ।

नेदरल्यान्ड्सबाट सेबास्टियन ब्राटले २६ रन बनाई अविजित रहे । म्याक्स ओ’डाड २० र कप्तान पिटर सिलार १३ रनमा आउट भए ।
यसअघि नेपालबाट कुशल भुर्तेलले ७७ रन बनाउँदै नेपाललाई लगातार तेस्रो खेलमा २ सय रनभन्दा माथिको स्कोरमा उभ्याएका थिए । प्रतियोगिताको ५ खेलमा चौथो अर्धशतक बनाउँदै उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाए । ५३ बलको इनिङ्समा उनले ८ चौका र ३ छक्का प्रहार गरे ।

उनका ओपनिङ जोडी आसिफ शेख २ छक्का प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । कुशल मल्ल २४ बलमा ५० र दीपेन्द्रसिंह ऐरी १८ बलमा ४८ रन बनाई अविजित रहे । कुशल मल्लले २ चौका र ५ छक्का तथा दीपेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे ।

फाइनल पुग्ने क्रममा राउन्ड रोबिन लिगमा नेपालले ४ मध्येको ३ खेल जितेको थियो । नेदरल्याण्ड्सले २ मा विजय र एकमा पराजय भोगेको थियो । मलेसियासँग लिगको आफ्नो अन्तिम खेलमा नेदरल्याण्ड्सले ‘टाई’ नतिजा निकालेको थियो । राउन्ड रोबिनमा नेपाल र नेदरल्याण्ड्सले एक अर्काविरुद्ध १–१ खेल जितेका थिए । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । अर्को खेलमा नेपालले छाडेको २ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले २ सय ९ रन बनाउँदै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो सबैभन्दा ठूलो रन पछ्याउने कीर्तिमान बनाएको थियो ।

नेपालले सुशन भारीको स्थानमा अविनाश बोहरालाई प्लेइङ ११ मा राखेको छ । यो संगै नेपाली टोलीमा ४ तीब्र गतिका बलर हुनेछन् । स्पिन विशेषज्ञको रुपमा सन्दीप लामिछाने मात्र टोलीमा रहेका छन् । अविनाशको स्थानमा खेल्दै कमलसिंह ऐरीले मलेसियासँगको पछिल्लो खेलमा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै ३ विकेट लिएका थिए । पछिल्ला तीन खेलमा १ विकेट लिन मात्र सके पनि ट्वान्टी–२० विशेषज्ञ बलर भएकाले अविनाशले मौका पाएका हुन् । नेदरल्याण्ड्समाथि विजय हात पारेमा नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पार्नेछ । ११ वर्ष अगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेयता नेपालले घरेलु मैदानमा उपाधि जितेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७