गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल हुँदै


१३ बैशाख २०७८, सोमबार
gandaki sarkar

पोखरा, १३ बैसाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज (सोमबार) को प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल हुँदैछ ।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो २ बजेबाट शुरु हुँदैछ । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै संसद अधिवेशन अन्त्यको सिफारिस गरेका थिए ।

चालु संसद अन्त्य भएपछि कांग्रेस, माओवादी र जसपासहितले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन गरेका थिए । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले जानकारी दिएका छन् ।

अविश्वासको प्रस्ताव टेवुल भएपछि सबै दलका नेताहरुले बोल्ने र दोस्रो दिन मुख्यमन्त्रीले जवाफ दिने उनले बताएका छन् । सम्भव भए मंगलबार नै अविश्वास प्रस्तावमा भोटिङ हुने उनले बताएका छन् ।

मुख्यमन्त्री गुरुङको विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) सहितका दलले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रिय जनमोर्चाले हस्ताक्षर नगरे पनि प्रस्तावको समर्थन गरेको छ । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई प्रस्ताव गरिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रस्तावको पक्षमा बहुमत पु¥याउन ३१ मत ल्याउनु पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७