एमाले कर्णालीका चार सांसद पदमुक्त


१३ बैशाख २०७८, सोमबार
floor

सुर्खेत, १३ बैसाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका एमालेका चार सांसद पदमुक्त भएका छन् । प्रदेशसभा नियमावली दफा १९१ बमोजिम सातौ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएपछि सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको पद रिक्त भएको हो ।

राजनैनिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम आवश्यक कार्यार्थ प्रदेशसभामा प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको पत्र एमालेले संसद् सचिवालयमा दर्ता गराएको थियो । उक्त पत्रलाई सोमबार बसेको संसद् बैठकमा सभामुख शाहीले दल त्यागसम्बन्धी नियमावलीअनुसार संसद्लाई जानकारी गराएका थिए । सांसद पद रिक्त भएका चारजना सांसदले वैशाख ३ गते मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

एमाले संसदीय दलको बैठकले विपक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि दलको ह्वीप उल्लंघन गरी गैरजिम्मेवार, असंसदीय र लज्जास्पद गतिविधि गरेको एमालेको ठहर छ । उनीहरुले फ्लोर क्रस गरी संसदीय लोकतन्त्र र दलीय पद्दतीमाथि आँच आउने काम गरेको भन्दै वैशाख १० गतेदेखि लागू हुन गरी नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य, प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३, प्रदेशसभा नियमावली २०७४, नेकपा एमाले प्रदेशसभा संसदीय दलको विधान २०७७ बमोजिम फ्लोर क्रस गर्ने चारजनालाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गरिएको संसदीय दलका नेता यामलाल कँडेलद्वारा हस्ताक्षेरित पत्रमा उल्लेख गरिएको छ । ४० सदस्यीय प्रदेशसभा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरेर कारबाहीस्वरुप सांसद पद खोसिएपछि ३९ सदस्यीय बनेको थियो ।

माओवादी केन्द्रका शाहीलाई मुख्यमन्त्री कायमै रहन २० सांसदको समर्थन आवश्यक थियो । आफ्नै पार्टीका १२ र नेपाली कांग्रेसका ६ जना जोड्दा पनि विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था थिएन । एमालेसँग सभामुखसहित २० जना सांसद छन् । मतदानमा सहभागी ३७ सांसदमध्ये माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका चारजनाले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए भने विपक्षमा १५ मत खसेको थियो ।

ज्वाला सल्यान १ (ख), थापा दैलेख १ (ख), शाही कालीकोट १ (क) र बुढा डोल्पा १ (क) बाट निर्वाचित भएका थिए । ज्वाला यसभन्दा अघि आर्थिक मामिला तथा योजनामन्त्री, बुढा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री थिए । अहिले फ्लोर क्रस गर्ने चारजनामध्ये ज्वाला बाहेक तीन जना मन्त्री बनेका छन् ।

योसँगै कर्णाली प्रदेशमा पाँच जनाको सांसद पद रिक्त भएको छ । सर्वाेच्च अदालतको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी विभाजन भइ पहिलेकै अवस्थामा पुगेपछि धर्मराज रेग्मीले आफ्नो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेपछि उनको पद पनि रिक्त भएको थियो । चार जना सांसदको पद रिक्त भएपछि एमालेको सिट संख्या सभामुखसहित १६ मा झरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७