अस्पतालका अक्सिजन प्लान्ट मर्मत नहुँदा सिलिन्डरको भर

‘अक्सिजन पर्याप्त उत्पादन, हस्पिटलमा पुर्‍याउन सिलिन्डर कम’


१४ बैशाख २०७८, मंगलवार
Oxygen 1

काठमाडौं, १४ बैैसाख । महामारीविरुद्ध सारा विश्वले संघर्ष गरेको यो एक वर्षमा नेपाल सरकारले न बिग्रिएका अक्सिजन प्लान्ट बनाएको छ, न पर्याप्त सिलिन्डरको जोहो गरेको छ ।

अक्सिजन उत्पादनमा आत्मनिर्भर भए पनि अस्पताल–अस्पताल पुर्‍याउन सिलिन्डर अभाव हुने देखिएको छ । उद्यमीहरूले तत्कालै ३० देखि ४० हजार सिलिन्डर आयात गर्न सुझाब दिएका छन्, तर नियमित प्रक्रियाबाट आयात गर्दा यसका लागि करिब दुई महिना लाग्ने देखिएको छ ।

नेपालमा पूर्व झापादेखि पश्चिम नेपालगन्जसम्म अक्सिजन उद्योग छन् । ती उद्योगले नेपाललाई आवश्यक अक्सिजन आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन् । तर, अक्सिजन होइन, सिलिन्डर अभाव हुन सक्ने नेपाल अक्सिजन ग्यास उत्पादक संघको भनाइ छ ।
खाली भएको सिलिन्डर उद्योगसम्म पुर्‍याउने र उद्योगबाट अस्पतालसम्म पुर्‍याउन समय लाग्ने भएकाले अधिकांश सिलिन्डर बाटोमै हुन्छन्, बिरामीको सेवामा थोरै मात्र सिलिन्डर लगाउन सकिने उद्योगीहरूको भनाइ छ । ‘सिलिन्डर अभावले समस्या हुन सक्ने देखेर तत्कालै आयातका लागि सरकारलाई सुझाब दिएका छौँ,’ संघका अध्यक्ष गौरव सारडाले भने ।

उद्यमीहरूका अनुसार अहिले अक्सिजन उत्पादन गर्ने पाँच ठूला उद्योगसँग करिब १२ हजार र अन्य १६ उद्योगसँग करिब दुई हजारका दरले अक्सिजन सिलिन्डर छन् । यसरी देशमा करिब ९० हजार सिलिन्डर सञ्चालनमा छन् । तर, यसको निश्चित लेखाजोखा अहिलेसम्म भएको छैन ।

संघले स्वास्थ्य मन्त्रालयलाई तत्काल ३०–४० हजार थान सिलिन्डर आयात गर्न सुझाब दिएको छ । कोभिडको महामारी बढ्दै गएको अवस्थामा अक्सिजनको चरम संकट हुन सक्ने भन्दै उद्योगीले सहज आपूर्तिका लागि सिलिन्डर आयात गर्न सरकारलाई सुझाब दिएका हुन् ।

तरल अक्सिजन खाना पकाउने ग्यासजस्तै बुलेट (ट्यांकर) मा ल्याउने हो, त्यो केमिकलबाट बन्ने हो । यस्तो अक्सिजन एकै पटक ल्याएर अस्पतालको प्लान्टमा खन्याएपछि दुई–तीन सातालाई पुग्छ । प्लान्टबाट बेडसम्म जोडिएको प्रणालीबाट बिरामीलाई अक्सिजन पुग्ने भएकाले यो सेवा विश्वसनीय हुन्छ । तर, देशका प्रमुख अस्पताल वीर, पाटन, पोखरा र धरानमा यस्ता प्लान्ट एक वर्षअघि नै बिग्रिएका हुन्, सरकारले बनाएको छैन । सिलिन्डर भने छिटो–छिटो फेर्नुपर्छ, अब धेरै अस्पतालमा त्यसैको भर गर्नुपर्ने अवस्था छ ।

हाल काठमाडौंमा आठ र काठमाडौंबाहिर १२ गरी २० उद्योग सञ्चालनमा रहेको संघले जनाएको छ । काठमाडौंका उद्योगमा प्रतिदिन आठ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ, देशभरमा भने २० हजार सिलिन्डर प्रतिदिनको क्षमता छ । यो उत्पादनले करिब सात हजार बिरामीलाई २४सै घन्टा अक्सिजन दिन सकिन्छ ।

‘कोभिडले ग्रसित बिरामीलाई दिनमा तीन सिलिन्डरसम्म पनि अक्सिजन आवश्यक पर्न सक्छ, २० हजार सिलिन्डरले सात हजार बिरामीलाई सेवा दिन सकिन्छ,’ एक उद्योगी भन्छन्, ‘तर अक्सिजन सकिनासाथ जोडिहाल्न अर्को सिलिन्डर तयार नहुन सक्छ, बाटोमै हुन सक्छ । अर्को अस्पतालमा हुन सक्छ । त्यसमाथि नियमित अक्सिजन लिएका बिरामीलाई पनि अक्सिजन दिनुपर्ने हुन्छ । पर्याप्त सिलिन्डर भएमा मात्र हरेक अस्पतालमा स्टक राख्न सकिन्छ ।’

अक्सिजन सिलिन्डर आयातका लागि उत्पादकदेखि आपूर्तिकर्तासम्मको सूची समेत सरकारलाई उपलब्ध गराइसकेको सारडाले बताए । ‘समस्या अक्सिजन उत्पादनमा होइन, अक्सिजन सिलिन्डरमा हुन सक्छ,’ उनले भने, ‘हामीले स्वास्थ्य मन्त्रालयलाई सिलिन्डरको अभाव रहेको भन्दै आयात गर्न आग्रह गरिसकेका छौँ । मन्त्रालयले गम्भीर कदम चाल्ने आश्वासन दिएको छ ।’

सामान्यतः नेपालमा चीन र भारतबाट अक्सिजन सिलिन्डर आयात हुन्छ । सामान्य प्रक्रिया अपनाएर आयात गर्दा दुई महिनासम्म लाग्ने व्यवसायीहरू बताउँछन् । ‘अक्सिजन आयात गर्दा भारतबाट सजिलो हुन्छ, तर अहिले त्यहाँबाट आयात गर्न समस्या छ,’ एक आयातकर्ताले भने, ‘अहिले चाहिँ चीनबाट आयात गर्दा सजिलो हुन्छ, तर सामान्य प्रक्रियाबाट आयात गर्दा दुई महिनासम्म लाग्न सक्छ, त्यसैले सरकारले आपत्कालीन रणनीति बनाएर आयात गर्नुपर्छ ।’

शंकर ग्यास उद्योगका सञ्चालक शम्भु भण्डारी पनि अक्सिजनको अभाव नहुने बताउँछन् । उनी त भारतबाट अझै पनि तरल अक्सिजनसमेत आउने विश्वास गर्छन् । ‘भारतले अक्सिजन आयातमा पूर्ण रूमा रोक लगाएको होइन, नियन्त्रण मात्र गरेको हो, त्यसैले केही मात्रामा भारतबाट पनि आउँछ । बाँकी स्वदेशी उद्योगले धान्छौँ,’ उनले भने, ‘अक्सिजन उत्पादन गर्न वातावरणको हावा चाहिने हो, बाँकी बिजुली भए पुग्छ । तर, सिलिन्डर भने कम नहोस् भनेर हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण जेठ–असारमा उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । उच्च बिन्दुमा पुग्दा दैनिक ११ हजार संक्रमित हुने अनुमान गरेको छ । त्यसवेला सक्रिय संक्रमितको संख्या सात लाख पुग्ने प्रक्षेपण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम भन्छन्, ‘पुरानो भेरियन्ट कुल संक्रमितमध्ये ८० प्रतिशत सामान्य लक्षण भएका १५ प्रतिशत लक्षण भएका र पाँच प्रतिशत गम्भीर अवस्थामा पुग्ने अनुमान विश्व स्वास्थ्य संगठन डब्लुएचओले गरेको थियो । तर, यो नयाँ भेरियन्ट भएकाले कस्तो अवस्थामा पु¥याउँछ कसैले भन्न सकेको छैन । कतिलाई अक्सिजन दिनुपर्छ भनेर अनुमान गर्न पनि गाह्रो छ,’ उनी भन्छन् ।

तर, संक्रमण जुनसुकै अवस्थामा पुगे पनि अक्सिजन अभाव नहुने डा. गौतमको दाबी छ । ‘अहिले धेरै अक्सिजनको कुरा उठेको छ । नेपालमा चाहिनेजति अक्सिजन देशभित्र उत्पादन हुन्छ, यो विषयमा हामीले उद्योगहरूसँग पर्याप्त छलफल गरिसकेका छौँ,’ उनको भनाइ छ ।

उद्योगीहरूले अक्सिजन सिलिन्डरमा लाग्दै आएको भन्सारदर घटाउन, अन्तःशुल्क हटाउन तथा मूल्य अभिवृृद्धि हटाउन माग गरेका छन् । हाल अक्सिजन ग्यासको सिलिन्डरमा १५ प्रतिशत भन्सार महसुल, पाँच प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको संघले जनाएको छ । संघले सिलिन्डरमा भन्सार महसुललाई एक प्रतिशतमा झार्न तथा अन्तःशुल्क र मूल्य अभिवृद्धि कर नलगाउन माग गरेको अध्यक्ष सारडाले बताए । ‘हामी तीन दशकभन्दा लामो समयदेखि यस उद्योगमा छौँ । तर, सरकारले हालसम्म हामीलाई देखेन, हामीलाई सुनेन,’ उनले भने, ‘यस उद्योगलाई अत्यावश्यक उद्योगका रूपमा व्यवहार गरिनु पर्छ भनेका छौं ।’

संघले घर वा उद्योगमा अक्सिजन सिलिन्डरको अनावश्यक स्टक नराख्न अपिल गरेको छ । गम्भीर बिरामीलाई अक्सिजन उपलब्ध गराउन सिलिन्डरको अभाव हुन सक्ने भन्दै संघले स्टक नराख्न आग्रह गरेको हो । ‘नेपालमा अभाव हुने बित्तिकै स्टक राख्ने प्रवृत्ति छ,’ एक उद्योगीले भने, ‘चामल–दाल स्टक राखेजसरी अक्सिजन स्टक राख्न भएन, सिलिन्डरलाई चलायमान बनाउनु पर्छ ।’

अक्सिजन ग्यास गम्भीर बिरामीका लागि मात्रै नभई औद्योगिक उत्पादनमा समेत खपत हुन्छ । स्टिल, सिमेन्ट, हाइड्रो र वेल्डिङलगायतका उद्योगमा अक्सिजनको प्रयोग हुन्छ । कोभिड महामारीको जोखिम बढ्दै गएको अवस्थामा अक्सिजन अभावले संकट निम्तिन सक्ने भन्दै तत्काललाई अक्सिजनको औद्योगिक खपत बन्द गर्नुपर्ने वितरकहरूले बताएका छन् । ‘अहिले पनि उद्योग तथा कलकारखानामा अक्सिजन आपूर्ति भइरहेको छ,’ एक वितरकले भने, ‘मान्छेको जीवन बचाउन अक्सिजन सिलिन्डर जगेर्ना गरिराख्नुपर्छ, त्यसैले अहिलेलाई अक्सिजनको औद्योगिक खपत रोक्नु वा कम गर्नुपर्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७