गुडविल सहकारीमा निक्षेपकर्ताको एक अर्ब संकटमा

पाँच सय जनाको जाहेरी, अनुसन्धान गर्दै प्रहरी, ठगिनेमा स्थापित कलाकार पनि


१४ बैशाख २०७८, मंगलवार
money

काठमाडौं, १४ बैैसाख । धीरेन शाक्य, नेपाली सिनेमा जगतका स्थापित कलाकार । साथीको आग्रहमा ललितपुरको कुमारीपाटीस्थित गुडविल सहकारीको सदस्य बने । कमाइको थोरैथोरै रकम जम्मा गर्दै गए । जम्मा भएको रकम ‘केही काम’ मा लगाउने सोच थियो । तर, भयो उल्टो, सहकारीले सबै रकम डुबाइ दियो ।

डुबेको रकम उठाउन कानुनी उपचारका लागि जाहेरी दिन महानगरीय प्रहरी परिसर लतिलपुर पुगेका कलाकार शाक्यले भने, ‘सहकारीमा रकम थियो । रामै्रै गर्ला भन्ने आश थियो । तर, सबै रकम डुबाइदियो ।’

कलाकार शाक्यका अनुसार सहकारीले उनको मात्रै रकम डुबाइदिएन, आफू जस्तै अन्य धेरैको रकम डुबाइदिएको छ । आफ्नो थोरै रकम भए पनि अरूको रकम डुबेको चिन्ताले पिरोलेको शाक्यले सुनाए । ‘मेरो त लाख डुब्यो, अरूको त करोडमाथि छ । सहकारी बोर्ड र प्रहरीमा जाहेरी दिएका छौँ । उठाइदिने त भनेका छन्, हेरौं के हुन्छ !’ उनले भने ।

सहकारीले ललितपुरकी संगीता श्रेष्ठको पनि १२ लाख रुपैयाँ डुबाइदियो । घरझगडा हुने पीरले रकम डुबेको खबर पनि परिवारका सदस्यलाई भन्न सकेकी छैनन् । ‘बच्चाको खाजा खाने रकम कटौती गरेर सहकारीमा रकम जम्मा गरेँ । परिवारको सदस्यलाई पनि भनिनँ । तर, सहकारीले डुबाइदियो,’ श्रेष्ठले जाहेरीपछि आशा व्यक्त गर्दै भनिन्, ‘जाहेरी दिएकी छु, उद्धार होला कि !’

सोही सहकारीमा ललितपुरकै देवीप्रसाद श्रेष्ठले पनि ३४ लाख रुपैयाँ डुबाए । परिवारमा समेत उनले आफ्नो पीडा खोल्न सकेका छैनन् । यस्तै अवस्था छ, ललितपुरकै लल्ली राणा श्रेष्ठको । उनले पनि सहकारीमा कमाइ भएको रकम जम्मा गर्दै गइन् । ‘भविष्यमा नयाँ केही गरौंला भन्ने सपना थियो । तर, सहकारीले डुबाइ दियो,’ उनले भनिन् ।

कलाकार धीरेन शाक्यदेखि लल्ली राणासम्म सहकारीमा राखेको पैसा डुबेकोमा चिन्तित छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्ज्वल महर्जनले पाँच सयभन्दा धेरैको रकम डुबेको र सबै रकम जोड्दा अर्ब नाघ्ने बताए ।

‘सहकारीबाट ठगिने पाँच सयभन्दा धेरैको जाहेरी परेको छ । डुबेको रकम १० हजारदेखि करोड रुपैयाँभन्दा धेरै छ । सबै रकम जोड्दा एक अर्बभन्दा धेरै देखिन्छ । सबै जाहेरीको गहन अध्ययन हुँदैछ । डुबेको रकम कसरी उठाउने भन्ने गरी काम गर्दैछौँ,’ उनले भने ।

प्रहरीका अनुसार अध्यक्ष दिवाकर श्रेष्ठविरुद्ध मात्रै निपक्षेपकर्ताबाट संकलन भएको ७९ करोड ८९ लाख ६४ हजार पाँच सय २० रुपैयाँ ठगी अभियोग छ । गुडविलबाट ठगिएका बचतकर्ता सबै ललितपुर कुमारीपाटीका स्थानीय छन् । ललितपुरमा गुडविललाई स्थापित सहकारी मानिन्छ ।

प्रहरीका अनुसार संस्थाको सोही गुडविलकै कारण धेरै निक्षेपकर्ताबाट निक्षेप संकलन गर्न सफल भएको र संकिलत रकम सञ्चालकबाट दुरुपयोग गरिएको हो । कोरोनामा पनि सहकारीले सर्वसाधारणबाट निक्षेप संकलन गर्न छाडेको थिएन । संस्थाले पछिल्ला दिन घरजग्गा कारोबारमा लगानी केन्द्रित गरेको थियो । लामो अवधि चलेको लकडाउनका कारण पछिल्ला दिन घर जग्गाको कारण ठप्प छ । जसलाई सहकारीले व्यवस्थापन गर्नै सकेन, नतिजा निक्षेपकर्ताको पैसा डुब्यो ।

गुडविल सहकारी सञ्चालनका लागि नौ सदस्यीय बोर्ड गठन गरिएको थियो । जसअनुसार अध्यक्ष दिवाकर श्रेष्ठ थिए । उपाध्यक्ष दीपेन्द्र कोइराला थिए । सदस्यका रूपमा भने मनिमान महर्जन, विशाल केसी, निशान श्रेष्ठ, गोविन्द महर्जन, सपना खड्का, विवेक खड्का र डम्बरबहादुर श्रेष्ठ थिए । प्रहरीले अहिले सबैलाई पक्राउ गरेको छ । कहाँ कसरी लगानी गर्ने भन्नेमा उनीहरूले सही योजना बनाउन सकेनन् ।

ललितपुर परिसरका डिएसपी दीपक भारतीले गुडविलको सबै बोर्ड सदस्यलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान अघि बढेको बताए । प्रहरी हिरासतमा भेटिएका सहकारीका अध्यक्ष श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘मुलुक लकडाउनमा गयो । समस्या आइलाग्यो, सहकारी पनि डुब्यो । खै कसरी यस्तो अवस्था आयो ? मैले त केही सोच्नै सकेको छैन ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७