कोरोना कहरः पुनः सुनसान बन्यो सौराहा


१४ बैशाख २०७८, मंगलवार
souraha

चितवन, १४ बैैसाख । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनः दोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै थियो ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द हुँदा सबैमा निराशा छाएको छ । होटलले बिदामा राखिएका मजदूर फिर्ता बोलाएको, मर्मतसम्भार गरेर होटललाई थप सुबिधा सम्पन्न बनाइएको भए पनि कोरोनाको दोस्रो लहरसँगै व्यवसाय ठप्प भएका छन् ।

अब समस्या नआउने अनुमानसहित व्यवसायीले ऋण थपेर होटलमा लगानीसमेत बढाएका थिए । अधिकांश होटलले ऋण बढाएर बैंकको व्याज तिरेका हुन् । उनले भने, ‘अब साउनसम्म व्यवसाय राम्रो होला भन्ने हाम्रो अपेक्षा थियो ।’ सौराहाका होटलमा धेरै व्यवसायिक कार्यक्रमका लागि बुकिङ आएका थिए । तीसँगै आन्तरिक पर्यटकका बुकिङ पनि रद्द भएका छन् ।

कोभिडका कारण दैनिक रु ८० देखि ८५ लाख नोक्सान सौराहामा बेहोर्नुपरेको उनी बताउँछन् । अघिल्लो वर्षको चैतदेखि होटल बन्द थिए । यसभन्दा अघिल्लो वर्षमा यतिवेला ८० देखि ८५ प्रतिशत बुकिङ हुने गर्दथ्यो । अहिले पनि ८० प्रतिशतसम्म बुकिङ पुगेकोमा एकाएक कोरोनाको दोस्रो लहर आएपछि होटल व्यवसाय प्रभावित भएको उनको भनाइ छ ।

हिजो आजका धेरै कार्यक्रम रद्द भएका छन् । उनले भने, ‘मेरै होटलमा आजबाट चार दिनसम्म हुने भनेको कार्यक्रम स्थगित भयो ।’ हाल सौराहा सुनसान हुँदै गएको छ । अहिले सौराहामा पाँच प्रतिशत हाराहारी मात्र अकुपेन्सी रहेको छ । ‘अब मजदूरलाई के गर्ने रु ऋण कसरी तिर्ने रु सबैको चिन्ता यही छ’, उनले भने ।

यूनिक वाइल्ड रिसोर्टमा यही वैशाख १२ गतेदेखि पूर्वनिर्धारित एमआरका दुईवटा कार्यक्रम कोभिडको त्रासले रद्द भयो । रिसोर्टका सञ्चालक गुणराज थपलियाका अनुसार वैशाख ११ र १२ गतेका लागि तय भएको अन्तरराष्ट्रिय क्लबको कार्यशाला पनि रद्द भएको छ । उनले एकाएक कोरोना बढेपछि होटल पूर्ण रुपमा प्रभावित भएको बताए । उनले भने, ‘कोरोनाको पहिलो लहरको प्रभाव न्यूनिकरण हुन नपाउँदै दोस्रो देखिएसँगै निराशा पैदा भएको छ ।’

सौराहामा पछिल्लो समय वीरगञ्ज, विराटनगर, काठमाडौं लगायतका शहरबाट आएर विवाह गर्ने प्रचलन पनि बढ्दै गएको थियो । कोरोनाको कहरले यसलाई पनि असर गरेको छ । भारतसमेत विवाहका लागि सौराहा आउने क्रम शुरु भएको थियो । जङ्गल क्राउनका सन्तोष गिरीले बुकिङ भएको विवाह पनि स्थगित भएको जानकारी दिए ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे पहिलो चरणको कोरोनाको प्रभाव जेनतेन व्यवस्थापन गर्न नपाउँदै अप्ठ्यारो स्थिति आएको गुनासो गर्छन् । सबै होटल पूर्ववत् अवस्थामा आएसँगै फेरि कोरोना बढेपछि प्रभावित भएको उनको भनाइ छ । उनले भने, ‘सबै बुकिङ रद्द भए । हाम्रो उत्साह हराएर गयो ।’ कोभिडको प्रभावसँगै आन्तरिक क पर्यटकलाई लक्षित गरी आफूले व्यवसाय पूर्ववत् अवस्थामा पुर्‍याएको बताइएको छ ।

व्यवसायीका अनुसार सौराहामा ११५ होटल सञ्चालनमा रहेका छन् । ती होटलमा छ हजारभन्दा बढी बस्न सक्ने क्षमता रहेको छ । सौराहाको पर्यटन व्यवसायमा मात्र रु ३३ अर्बभन्दा बढिको लगानी भएको व्यवसायी बताउँछन् । यहाँ पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । कोरोनाले होटल व्यवसायमा पार्ने प्रभावसँगै यसको लगानीको जोखिम र यसमा आश्रितको रोजगारीको समस्यासमेत हुने उनी बताउँछन् । कोरोनाको प्रभाव बढेसँगै सांस्कृतिक घर बन्द गरिएको छ । अन्य गतिविधि पनि क्रमश प्रभावित हुँदै गएका छन् । मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्जमा वन, वन्यजन्तु र चराचुरुङ्गीसँग रमाउन स्वदेशी र विदेशी पर्यटक यहाँ आउने गर्दछन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७