नेपाल ट्रान्जिट बनाउन प्रतिबन्ध, अब भारतीयहरू नेपालको बाटो साउदी जान नपाउने


१५ बैशाख २०७८, बुधबार

काठमाडौं, १५ बैसाख । सरकारले तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने विदेशी नागरिकको आवागमनमा रोक लगाएको छ ।

अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण बुधबार (१५ वैशाख) राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको जनाएको छ ।

विभागले नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट बाहिरिने यात्रुले पाउँदै आएको सेवा भने नियमित रहने जनाएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहरले हरेक दिन रेकर्ड तोडिरहेको वेला नयाँदिल्लीबाट नेपालमा सीधा उडानबाट दैनिक सयौँ भारतीय विना रोकतोक भित्रिरहेका थिए ।

नेपाल घुम्न आएका विदेशीभन्दा पनि भारतबाट साउदीतर्फ सीधा उडान रोकिएपछि साउदीमा काम गर्ने भारतीय नेपालको बाटोबाट साउदीतर्फ गइरहेका छन् । नेपालमा आउँदा क्वारेन्टिन र स्वास्थ्य मापदण्डमा लापरबाही गर्दा नेपाल समेत उच्च जोखिममा परेको भन्दै विरोध भइरहेको थियो । नेपालमा एयर इन्डिया र नेपाल वायुसेवा निगमले दैनिक एक–एक उडान गरिरहेका छन् । दुवै उडानमा ८० प्रतिशतभन्दा बढी भारतीयले भरिने गरेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुवरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सीधा उडान रोकेपछि भारतीयले नेपालको बाटो रोजेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७