उपनिर्वाचनमा डेढ करोड खर्च अनुमान


१५ बैशाख २०७८, बुधबार
nirbachan aayoga

काठमाडौं, १५ बैसाख । निर्वाचन आयोगले आगामी ६ जेठमा हुने राष्ट्रिय सभातर्फको उपनिर्वाचनका लागि डेढ करोडभन्दा बढी खर्च हुने अनुमानसहित बजेट माग गरेको छ । उपनिर्वाचनका लागि मंगलबार अधिकृतसमेत नियुक्त गरिएको छ । आयोगले निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई नियुक्त गरेको हो ।

आयोगले मंगलबार निर्वाचनका लागि ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८’ समेत तयार गर्दै बाग्मती प्रदेशको रिक्त एक सदस्य पदपूर्तिका लागि हुने उपनिर्वाचनमा १ करोड ६१ लाख ३० हजार खर्च हुने अनुमान गरेको हो । आयोग प्रवक्ता राजकुमार श्रेष्ठले कार्यविधिअनुसार नै आवश्यक बजेट माग गरिएको जानकारी दिए । कार्यविधिअनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा बजेट खर्च हुने उनले बताए ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २७ र २८ अनुसार सो कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार गरेको हो । सोमबार मात्रै आयोगले उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको थियो । स्वीकृत कार्यतालिकाअनुसार २१ वैशाखमा मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने, २२ र २३ वैशाखमा निवेदन तथा उजुरीउपर छानबिन र कारबाही, २३ वैशाखमा अन्तिम मतदाता नामावली प्रकाशन रहेको छ ।

यसैगरी, २४ वैशाखमा उमेदवार मनोनयनपत्र दर्ता तथा मनोनयनपत्र दर्ता भएका उमेदवार सूची प्रकाशन, २५ वैशाखमा उमेदवारको विरोधमा उजुरी दिने, २६ र २७ वैशाखमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र २७ वैशाखमा उमेदवार नामावली प्रकाशन हुनेछ ।

त्यस्तै, २८ वैशाखमा उमेदवारले नाम फिर्ता लिने र २९ वैशाखमा अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम आयोगले तय गरिसकेको छ । उपनिर्वाचनका लागि बाग्मती प्रदेशको राजधानी हेटौंडामा बिहान ९ बाट दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७