कोभिडको डरले अक्सिजन कन्सन्ट्रेटरको माग ह्वात्तै बढ्यो


१५ बैशाख २०७८, बुधबार

काठमाडौं, १५ बैसाख । मुलुकमा कोभिड संक्रमणको बढ्दो त्राससँगै सर्जिकल पसलहरूमा ‘अक्सिजन कन्सन्ट्रेटर’ खरिद गर्ने ग्राहकको भिड बढ्न थालेको छ । दमका बिरामीका लागि उपयोग हुने अक्सिजन कन्सन्ट्रेटर पछिल्लो समय घरमा बिरामी नहुनेहरूले पनि लैजान थालेका छन् ।

कोभिड संक्रमित बढेर अस्पतालमा अक्सिजनको अभाव हुन सक्ने आशंका गर्दै सर्वसाधारणले घरमा अक्सिजन मेसिन जोहो गर्न थालेका हुन् । ‘अरूवेला दमका रोगीहरूले किनेर घरमा लैजाने गर्थे, अहिले अरूले पनि लैजान थालेका छन्,’ त्रिपुरेश्वस्थित जय साईबाबा सर्जिकलका म्यानेजर नवीन भण्डारीले भने, ‘बजारमा अक्सिजनको अभाव हुन सक्ने हल्ला फैलिएपछि अक्सिजन कन्सन्ट्रेटरको बिक्री बढेको हो ।’ सामान्य अवस्थामा महिनाको ५–६ थान बिक्री हुने पसलबाट अहिले दैनिक २–३ वटा अक्सिजन कन्सन्ट्रेटर बिक्री भएको व्यवसायीहरू बताउँछन् ।

त्रिपुरेश्वरकै साहिल सर्जिकल प्रालिले एक हप्तामा १२ थान अक्सिजन कन्सन्ट्रेटर बिक्री गरेको बताएको छ । ‘घरमा दमका रोगी हुनेहरूले फाट्टफुट्ट किनेर लैजान्थे, कोभिडको दोस्रो लहर सुरु भएपछि अक्सिजन कन्सन्ट्रेटरको माग बढ्न थालेको छ,’ साहिल सर्जिकलका सञ्चालक सञ्जय श्रीवास्तवले भने, ‘हामीसँग त्यति धेरै स्टक थिएन, भएका बिक्री गरेर सकिन थालिसकेका छन् ।’ कोभिड संक्रमित बढेर हस्पिटल भरिन थालेको र अक्सिजनको अभाव हुन सक्ने हल्ला फैलिन थालेपछि धेरैले घरमा अक्सिजनको जोहो गर्न थालेको उनको ठम्याइ छ ।

घरमा बुढाबुढी र बिरामी हुनेहरूका परिवारले कोभिडको महामारीमा सामान्य अवस्थामै हस्पिटलमा जानुनपरोस् भनेर अक्सिजन कन्सन्ट्रेटर किनेर लैजान थालेको साईबाबा सर्जिकलका म्यानेजर भण्डारीको भनाइ छ । उनी भन्छन्, ‘पहिला अक्सिजन कन्सन्ट्रेटर खोज्ने निकै कम हुन्थे, अहिले हुनेखाने परिवारले किनेर लैजान थालेका छन् ।’ पहिला खासै बिक्री नहुने अक्सिजन मेसिन अहिले गर्मी मौसम सुरु भएपछि धेरै खोजी हुन थालेको उनको भनाइ छ ।

छिमेकी मुलुक भारतमा दैनिक चार लाखसम्म कोभिडका संक्रमितहरू भेटिन थालेका छन् । स्थिति भयावह हुँदै गएपछि राजधानी नयाँदिल्लीका हस्पिटलहरूमा बेड र अक्सिजनको अभावले दैनिक ठूलो संख्यामा बिरामीको मृत्यु भइरहेको समाचार आइरहेका छन् । नेपालमा पनि कोभिड संक्रमित बढ्दै जाने र अक्सिजनको अभाव हुन सक्ने आशंकामा धेरैले घरमा अक्सिजनको जोहो गर्न थालेको गौतम इन्टरप्राइजेज प्रालिका सेल्स अफिसर विप्लव चापागाईंको अनुमान छ ।

भारतमा अक्सिजन कन्सन्ट्रेटर मेसिनको माग ह्वात्तै बढेको छ । अहिले अक्सिजन कन्सन्ट्रेटर मेसिन कालाबजारीमा डेढ लाख भारतीय रुपैयाँसम्म बिक्री हुन थालेको छ । ‘त्यही अवस्था देखिरहेका नेपालीहरूले पहिल्यै कन्सन्ट्रेटर मेसिन किनेर ढुक्कसँग बस्न खोजेको देखिन्छ,’ त्रिपुरेश्वरकै हिमालय सर्जिकल हाउसका युवराज बेल्वासे भन्छन्, ‘अनलाइनमार्फत अर्डर गरेर घरमै अक्सिजन मेसिन मगाउनेहरू पनि धेरै हुन्छन् ।’

अहिले माग बढेपछि पसलमा भएको स्टक सकिन थालिसकेको छ । ‘हामीसँग त्यति धेरै स्टक थिएन, एक्कासि बजारमा माग बढ्न थाल्यो,’ साहिल सर्जिकलका श्रीवास्तवले भने, ‘यदि माग बढ्न थाल्यो भने प्लेनबाट पनि ल्याउन सकिन्छ, अक्सिजन कन्सन्ट्रेटरको अभाव पक्कै नहोला ।’ संक्रमणका वेलामा सरकारले पनि अक्सिजन कन्सन्ट्रेटर आयातमा भन्सार छुटलगायत सुविधाहरू दिनुपर्ने उनको सुझाब छ ।

सर्जिकल सप्लायर्सका अनुसार चीन, अमेरिका, जर्मनीलगायत मुलुकबाट अक्सिजन कन्सन्ट्रेटर आयात गरिन्छ । ती मुलुकले पनि अर्डर गरेअनुसार पर्याप्त अक्सिजन मेसिन आपूर्ति गर्न नसकिरहेको गौतम इन्टरनेसनलका सेल्स अफिसर चापागाईंले बताए । उनले थपे, ‘हामीले अक्सिजन मेसिन चीनबाट मगाएको ४–५ महिनाअघिदेखि हो, आएको छैन, चीनले पनि कोभिडको भयावह स्थिति सिर्जना भइसकेका मुलुकलाई पहिलो प्राथमिकता दिइरहेको छ ।’

दैनिक १०–१२ जनाले अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न तथा बुझ्न आउने गरे पनि स्टक नहुँदा फर्काउनु परिरहेको उनको भनाइ छ । मंगलबार त्रिपुरेश्वरस्थित सर्जिकल सामग्रीका होलसेल तथा खुद्रा पसलहरू चहार्दा धेरैले अक्सिजन कन्सन्ट्रेटर बिक्री गरेर सकिएको बताए । अहिले माग बढेपछि अभावजस्तो देखिनु स्वाभाविक भए पनि भोलिका दिनमा अर्डर गरेर उपलब्ध गराउन सकिने श्रीवास्तव बताउँछन् ।

भोलिका दिनमा बजार र अस्पतालमा अक्सिनको अभाव हुँदा बिरामीको प्राथमिक उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर उपयुक्त विकल्प हुने विकास सर्जिकलका भीमसेन बोहरा बताउँछन् । ‘अहिले जसरी भारतमा कोभिडका बिरामीहरू अक्सिजनको अभावले अकालमा मरिरहेका छन्, त्यस्तो अवस्थामा अक्सिजन कन्सन्ट्रेटरले बिरामीलाई बचाउन सहयोग गर्छ,’ उनले भने, ‘यो मेसिन राख्नेको घरमा बिरामी अक्सिजन नपाएरै मर्नुपर्ने अवस्था आउँदैन ।’

अक्सिजन कन्सन्ट्रेटरको मूल्य अलि महँगो भएकाले सबैले किनेर घरमा राख्न सक्दैनन् । व्यवसायीका अनुसार नेपालमा अक्सिजन कन्सन्ट्रेटरको मूल्य ६० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म पर्छ । मेसिनको क्वालिटीअनुसार मूल्य पनि फरक–फरक हुन्छ । हिमालय सर्जिकलका बेल्वासे भन्छन्, ‘चाइनिज मेसिनको मूल्य ६० हजारदेखि ८० हजारसम्म पर्छ भने अमेरिकन मेसिनको १ लाखदेखि सवा लाख रुपैयाँसम्म पर्छ ।’ एकैपटक ठूलो लगानी गर्नुपर्ने भएकाले अत्यावश्यक बाहेकका ग्राहकहरू मूल्य सुनेपछि फर्किने गरेको व्यवसायीको अनुभव छ ।

‘अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न भनेर आउने ग्राहक धेरै हुन्छन्, तर धेरै मूल्य सुनेपछि नकिनी फर्किन्छन्,’ बेल्वासेले भने, ‘कतिपय पैसावालहरूले दुईवटासम्म पनि किनेर लगेको अवस्था छ ।’ बजारमा अक्सिजनका सिलिन्डर भाडामा लिएर लगाउँदा धेरै सस्तो पर्न आउँछ । तर, भोलिका दिनमा संक्रमितको संख्या बढेर सिलिन्डरको ग्यासले नधान्ने अवस्था आउँछ कि भनेर ग्राहकले अक्सिजन कन्सन्ट्रेटर किनेर घरमा राख्न खोजेका हुन् ।

अक्सिजन कन्सन्ट्रेटर सानो हुने हुनाले घरमा राखेर प्रयोग गर्न सकिन्छ । श्रीवास्तवका अनुसार यो अक्सिजन मेसिनको तौल १६ देखि २५ किलोसम्म र ५ लिटर क्षमतामा उपलब्ध हुन्छ । व्यवसायीका अनुसार यो मेसिनले प्रतिमिनेट ५ लिटर अक्सिजन उत्पादन गर्न सक्छ । यो मेसिन घरमा सजिलै बिजुलीबाट चलाउन सकिन्छ ।

मेसिनमा जडान गरेको कम्प्रेसरले बाहिर बहिरहेको हावालाई तानेर भित्र पठाउँछ भने मेसिनभित्र रहेका जिओ लाइटले हावालाई फिल्टर गरेर अक्सिजन छुट्याउँछ । मेसिनले फिल्टर गरेको अक्सिजन बिरामीहरूले आवश्यकताअनुसार प्रयोग गर्न सक्छन् । श्रीवास्तवका अनुसार बाहिर बहिरहेको हावामा करिब ३० प्रतिशत अक्सिजन र ७० प्रतिशत हाराहारी अरू तत्व हुने गर्छ । अक्सिजन कन्सन्ट्रेटरले अक्सिजन एकातिर र अरू ग्यासलाई अर्कोतिर छुट्याउने काम गर्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७