बागमती प्रदेशमा आज ओली पक्षका तीन मन्त्री र सात राज्यमन्त्री नियुक्त हुँदै


१५ बैशाख २०७८, बुधबार
bagmati pradesh

हेटौंडा, १५ बैसाख । बागमती प्रदेशमा रिक्त तीन मन्त्रालयमा आज (बुधबार) मन्त्री नियुक्त गरिने भएको छ । करिब चार महिना मन्त्रीविहीन रहेको मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपा एमाले ओली पक्षका सांसदलाई दिइने भएको छ । पार्टीको केन्द्रीय कमिटीबाट मन्त्री नियुक्तका लागि आजै नाम टुंगिने र अपराह्न ४ बजे सपथ ग्रहण गराइने स्रोतले जनाएको छ ।

नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमतीका तीन मन्त्रालय मन्त्रीविहीन छ । हालसम्म तीन वटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका छन् ।

को–को बन्दैछन् नयाँ मन्त्री र राज्यमन्त्री
मन्त्रीका लागि नेकपा एमाले बागमती संसदीय दलका प्रमुख सचेतक केशव पाण्डे, सिन्धुपाल्चोकका सरेश नेपाल, काभ्रेका चन्द्र लामाको नाम मन्त्रीका लागि चर्चामा छ । यी तीन जना मन्त्री बन्ने पक्का भए पनि कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिइनेबारे थप छलफल भइरहेको मन्त्रीका लागि दाबेदार समेत रहेका प्रमुख सचेतक पाण्डेले जानकारी दिएका छन् ।

‘हामी अझै छलफलमै छौं, कसलाई कुन मन्त्रालय दिने भन्ने टुङ्गोमा पुगेको छैन ।’ मन्त्रीका लागि नाम अघि सारिएका तीनै जना सांसद नेकपा एमाले ओली पक्षका हुन् । यसैगरी बागमतीको सातै प्रदेशमा राज्यमन्त्री राखिने भएको छ । प्रदेश सरकार गठनपछि हालसम्म राज्यमन्त्री नियुक्त नगरिएको बागमतीको सातै मन्त्रालयमा राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ ।

सातै जना राज्यमन्त्रीको जिम्मेवारी ओली पक्षका सांसदलाई दिइने भएको छ । राज्यमन्त्रीमा सरसस्वती बस्नेत, डा.रामकुमार अधिकारी, प्रदीप कटुवाल, जुनेली श्रेष्ठको नाम अघि सारिएको छ । हाल चार जनाको नाम अघि सारिएपनि सातै मन्त्रालयमा राज्यमन्त्री नियुक्तबारे छलफल भइरहेको प्रमुख सचेतक पाण्डेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७