कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि


१६ बैशाख २०७८, बिहीबार
korona covid 19 1 scaled

काठमाडौं, १६ बैसाख । नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो ।
बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ । युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता मृत्यु भएका दुई युवा ३३ र ३८ वर्षका छन् । त्यस्तै ४९ वर्षका एक व्यक्तिको पनि मृत्यु भयो । उनीहरू तीनै जना निमोनिया भइसकेपछि मात्र अस्पताल पुगेका थिए । उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरूमा कुनै पनि दीर्घकालीन रोग नभएको उपचारमा संलग्न डा. अनुप बास्तोलाले बताए ।

ह्याम्स अस्पतालमा केही दिनयता मृत्यु भएका दुई जनामध्ये एक कुनै रोग नभएका युवा छन् । उनीहरूको कोरोना निमोनियाले मृत्यु भएको अस्पतालका कोभिड उपचार चिकित्सक डा. राजु पंगेनीले नागरिकलाई जानकारी दिए । अहिले वार्डमा सिकिस्त भएर भर्ना भएका मध्ये ३५ देखि ५० वर्षभित्रका धेरै रहेको डा. पंगेनीले बताए ।

त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार चिकित्सक डा. सविन थपलियाका अनुसार भर्ना भएका १ सय ३० जना कोरोना संक्रमित बिरामीमध्ये ९० प्रतिशतको अवस्था गम्भीर छ । तीमध्ये पनि धेरै आइसियु चाहिने अवस्थामा छन् । सिकिस्त भएर उपचारमा पुग्नेमा निमोनिया भइसकेका युवा पनि छन् । यो वर्षको भाइरसको स्वरुप कडा भएकाले निरोगी युवालाई समेत सिकिस्त बनाएको डा. बास्तोला बताउँछन् । कोरोनालाई सामान्य रुघाखोकीका रुपमा हेरेर चरम बेवास्ता गर्नाले पनि युवाहरू सिकिस्त बनेको उनको तर्क छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७