४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको सुरुङमा पानी भर्न थालियो


१६ बैशाख २०७८, बिहीबार
tamakoshi jalbidut aayojana

दोलखा, १६ बैसाख । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसाल्न शुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले आज (बिहीबार) संयुक्त रुपमा पानी पठाउने कार्यको शुभारम्भ गरेका हुन् । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको हो ।

tamakoshi jabitut suvaramba

मुख्य निर्माणअन्तर्गत बाँध–इन्टेक, मुख्य सुरुङ, विद्युत गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाल श्रेष्ठका अनुसार सुरुङको परीक्षण सफल भएपछि परीक्षण उत्पादन सुरु हुनेछ । पानी भर्न सुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।

दोलखाको लामावगरमा रहेको ४५६ मेघावाट विद्युत् क्षेमताको आयोजना हालसम्मकै सबैभन्दा ठूलो लगानीको परियोजना पनि हो । भौतिक पूर्वाधार नेम्बाङ र सञ्चारमन्त्री गुरुङले संयुक्तरुपमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय, बाँध, इन्टेक र अन्य संरचनाहरुको अवलोकन समेत गरेका छन् ।

त्यसैगरी मन्त्रीद्धयले चीन जोडने लामाबगर लप्ची सडकको सूरुङ मार्ग बनाउने स्थलको पनि निरीक्षण गरे । साथै लामाबगरको गोंगरस्थित विद्युत गृहको पनि अवलोकन गरेका छन् । केहीदिनभित्रै उक्त आयोजनाबाट विद्युत उत्पादन कार्य हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै उक्त आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्नेछन् ।

यस आयोजनाको सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ उर्जामन्त्री टोपबहादुर रायमाझीसमेत जाने कार्यक्रम थियो । तर कोरोना संक्रमणका कारण उनी जान पाएनन् । देशको गौरव स्वदेशी लगानीको सबैभन्दा ठूलो र आधुनिक नेपालको महत्वपूर्ण आयोजनाबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुग्नु आफैमा सुखद भएको मन्त्री पार्वत गुरुङले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७