निषेधाज्ञामा आजदेखि थप कडाइ


१७ बैशाख २०७८, शुक्रबार
naka 2

काठमाडौं, १७ बैसाख । उपत्यकामा जारी निषेधाज्ञामा शुक्रबारदेखि थप कडाइ हुने भएको छ । कोरोना संक्रमित बढ्दै जाँदा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले दोस्रो दिनदेखि अझै कडाइ गर्ने प्रहरीले जनाएको छ ।

सरकारले बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको छ । तर, पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका छन् । विशेष गरी सहरका चोकहरूमा सवारीसाधनको बाक्लो चाप देखिएको छ । नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिललगायतका चोकमा त बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भयो ।

शुक्रबारदेखि सहरभित्रको निषेधाज्ञामा कडाइ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए । ‘पहिलो दिन भएर सवारीसाधनलाई केही लुज गरिएकै हो । तर, शुक्रबारबाट त्यस्तो हुँदैन । हामीले कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गर्छौँ । सरकारको निर्देशन कडाइका साथ पालना हुनेछ । जसले उल्लंघन गर्छ त्यसलाई कानुनअनुसार कारबाही हुनेछ,’ उनले भने ।

प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिनेछ । सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । मास्क नलगाई सडकमा निस्कनेको हकमा प्रहरी झन् कडाइका साथ उत्रने एसएसपी सिंहले बताए ।
‘मास्क नलगाई सडकमा निस्कनेलाई प्रहरीले पक्राउ गर्नेछ । नागरिकलाई दुःख दिने प्रहरीको मनासाय होइन । नागरिकको स्वास्थ्यकै लागि प्रहरीले यसो गर्न लागेको हो । सकेसम्म हामीले उहाँहरूलाई सम्झाउँछौं । मान्दै मानेन या अटेर गरे कारबाहीको विकल्प हामीसँग छैन,’ उनले भने ।

काठमाडौं प्रहरीका अनुसार मास्क नलगाई सडकमा निस्केका र निषेधाज्ञा उल्लंघन गर्ने चार सय ८१ जनलाई बिहीबार नै पक्राउ गरिएको थियो । उनीहरूलाई दुई घन्टा ‘होल्ड’ गरी राखेपछि मात्रै सम्झाइबुझाई छाडिएको थियो । त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने पाँच सय ८१ चारपांग्रे र नौ सय तीन दुईपांग्रे सवारीसाधन पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ गरी होल्डमा राखिएका सवारीसाधनको संख्या ट्राफिक प्रहरी महाशाखाको तथ्यांकमा अझ धेरै छ । महाशाखाका अनुसार दुई हजार ३९ सवारीसाधन नियन्त्रणमा लिइएको छ । जसमा तीन सय नौ चारपांग्रे, एक सय ८५ ठूला सवारीसाधन र १४ सय दुईपांग्रे सवारीसाधन छन् । बिहान ७ बजेदेखि नियन्त्रणमा लिइएका सबै सवारीसाधनलाई दिनभर ‘होल्ड’मा राखेर साँझ ७ बजे मात्रै छाडिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७