लुम्बिनीका चार सांसद निलम्बनले जसपाको ‘लफडा’ छताछुल्ल


१७ बैशाख २०७८, शुक्रबार
jasapa

काठमाडौं, १७ बैसाख । लुम्बिनी प्रदेशसभाका चार सांसद निलम्बनको सूचना प्रदेशसभाले प्रकाशित गरेपछि जनता समाजवादी पार्टी (जसपा) को विवाद छताछुल्ल भएको छ । एक पक्षले सांसदलाई कारबाही गरिएको र अर्काे पक्षले कारबाही नभएको पत्र प्रदेशसभामा पठाएका छन् ।

११ दिनअघि जसपाका चार सांसद एमाले नेतृत्वको सरकारमा मन्त्री भएपछि विवाद सतहमा आएको हो । मन्त्री भएका चार सांसद सन्तोष पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई जसपाको एक खेमा (पूर्वसमाजवादी पार्टी) ले स्पष्टीकरण सोध्दै कारवाहीको चेतावनी दिएका थियो। पूर्वराजपा खेमाले भने सहमतिमै सरकारमा सहभागी भएको विज्ञप्ति जारी गरेको थियो ।

प्रदेशसभाले बिहीबार सांसद निलम्बनको सूचना प्रकाशित गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभालाई पत्र लेख्दै कुनै पनि सदस्यलाई कारबाही नगरिएको जनाएका छन् । राजपा नेपाल र समाजवादी पार्टी एकीकरण भए पनि प्रदेशमा संरचना तयार नभएकाले संसदीय दललाई नै अधिकार दिइएको पत्रमा उल्लेख छ । ठाकुरले कार्यकारिणी समितिको बैठक नै नबसी कारबाही हुन नसक्ने बताएका छन् ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कारबाही गरिएको पत्र पठाएकाले सोही बमोजिम निलम्बन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सूचना अधिकारी दिनेश अधिकारीले सभामुखको आदेश अनुरुप संसद निलम्बनको सूचना आएको बताए । ‘पार्टी सदस्यबाट कारबाही गरिएको पत्र आएको थियो। सभामुखले त्यसलाई उपयुक्त ठान्नु भयो । अनि सूचना प्रकाशित भयो’, उनले भने ।
प्रदेशसभालाई संसदीय दलका नेता सहसराम यादवले समेत चार सांसदलाई कारबाही गरिएको भन्दै निलम्बनका लागि पत्र पठाएका छन् । यादवलाई वैशाख ६ गते नै दलको नेताबाट हटाइएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७