अस्पतालकै सेटिङमा सांसदलाई आईसीयूमा राखेको आरोप


१७ बैशाख २०७८, शुक्रबार
Khim 1230

पोखरा, १७ बैसाख । जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाहीलाई राखिएको पोखराको चरक मेमोरियल अस्पतालको भूमिकामाथि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले प्रश्न उठाएका छन् । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने तय भएको दिन बुधबार सांसद शाहीलाई अस्पतालकै ‘सेटिङ’ मा आईसीयूमा राखिएको तीन दलको आरोप छ । तीन दलले बिहीबार भएको संयुक्त बैठकपछि विज्ञप्ति जारी गर्दै अस्पतालको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका हरिबहादुर चुमान र जसपाका हरिशरण आचार्यले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । ‘सांसद शाही चरक अस्पतालमा पैदल प्रवेश गरेको सीसीटीभी फुटेजमा कैद दृष्यले मञ्चन गरिएको नाटकलाई पर्दाफास गर्ने भएका कारण त्यसको हार्डवेयरमा समेत चलखेल गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो योजनामा चरक अस्पताल समेत संलग्न रहेको देखिन्छ ।’

वैशाख १५ गते दिउँसो २ बजेसम्म फोनमा संवाद गरिरहेका सांसद उक्त दिन मध्याह्न १२ बजे पार्टी, संसदीय दल र प्रदेशसभा सचिवालयलाई समेत जानकारी नगराई आईसीयूमा भर्ना गरिएको भन्नुलाई तीन दलले अस्वाभाविक कथन भनेका छन् । पार्टीका नेताले भेट्न खोज्दा पनि अस्पताल प्रशासनले भेट्न नदिनु र दुर्व्यवहार गर्नु खेदजनक रहेको जनाइएको छ ।

‘स्वास्थ्य जस्तो मर्यादित क्षेत्रमा पनि आपराधिक प्रवृत्ति मौलाएको सर्वत्र आशंका गरिएको छ,’ विज्ञप्तिमा छ, ‘चरक मेमोरियल अस्पताल र त्यहाँका जिम्मेवार चिकित्सकको व्यवहार गैरजिम्मेवार र अविश्वसनीय छ ।’ अस्पताल परिसरमा ठूलो संख्यामा सादा पोसाकमा सुरक्षाकर्मी परिचालित गर्नुको कारण रहस्यमय रहेको तीन दलको ठहर छ । सांसदको स्थिति अज्ञात भएको र उनको जीवन रक्षाको पहल गरिदिन सम्बन्धित पार्टीले अनुरोध गर्दा समेत तत्कालै अवस्था सार्वजनिक नगरी अस्पताल प्रशासनले बन्दी बनाएको तीन दलको आरोप छ ।

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने आफ्ना सांसदको सुरक्षाको सुनिश्चितता गर्न समेत तीन दलले माग गरेका छन् । तीन दलले सभामुखको समेत सुरक्षा सुनिश्चितताको माग गरेका छन् । प्रदेशसभा सदस्यलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याउन माग गरिएको

छ । तीन दलले जनमोर्चाका सांसद खिमविक्रम शाहीको पीसीआर रिपोर्ट र प्रयोगशालाको विश्वसनीयतामाथि नै प्रश्न उठाएका छन् । सांसद शाहीले पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रयोगशालामा वैशाख १४ गते साँझ ४ बजे स्वाब दिएको रेकर्ड छ । जबकि त्यति नै बेला सांसद शाही प्रदेशसभा परिसर नदीपुरमै स्वाब दिइरहेका थिए । ‘एक व्यक्ति एउटै समयमा दुई स्थानमा उपस्थित हुन कसरी सम्भव छ ?’ तीन दलको प्रश्न छ, ‘एक स्थानमा स्वाब दिइसकेपछि त्यही दिन अर्को स्थानमा स्वाब दिनुपर्ने कारण के प¥यो ?’

प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पीसीआर रिपोर्ट नेगेटिभ देखाउनु तर करिब आधा घण्टाको फरकमा सार्वजनिक गरिएको रिपोर्टमा निजी ल्याबले पोजिटिभ देखाउनु रहस्यमय र अस्वाभाविक रहेको तीन दलको ठहर छ । सांसद शाहीको पीसीआर रिपोर्ट र प्रयोगशालाहरूको विश्वसनीयताको जाँच गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।

चरक अस्पतालका अध्यक्ष डा. बद्री पौडेल र प्रबन्ध निर्देशक कपिल पोखरेल एमाले निकट हुन् । दस दिनअघि एमाले नेता महेश बस्नेत समेत पोखरा आएर अस्पतालको निरीक्षण गरेका थिए । प्रदेश सांसद राजीव पहारीले बस्नेतलाई चरक अस्पताल पु¥याएका थिए ।

‘अचानक बिरामी भएर बेहोस भएँ’

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले अविश्वासको प्रस्तावमा मतदान गर्न सदनमा जान लाग्दा अचानक बिरामी भएको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै शाहीले उपचारका लागि भाइले अस्पताल लैजाँदै गर्दा बेहोस भएको जनाएका छन् । अस्पतालले शाहीलाई कोरोना संक्रमण भएको भने पनि उनले आफ्नो विज्ञप्तिमा भने त्यसबारे कतै उल्लेख गरेका छैनन् ।

उनले पार्टी निर्णयप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको बताएका छन् । पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत उनले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेका कारण ती निर्णयप्रति सहमति रहेको जनाएका हुन् । उनले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने दिन सदनमा जाने तयारी गरेको अवस्थामा अचानक बिरामी भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘मेरो भाइ (जुनविक्रम शाही) लाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भएपछि मेरोबारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान गर्ने दिन बुधबार उनी संसद्मा अनुपस्थित भए । जनमोर्चाले अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरिसकेको अवस्थामा सांसद शाही मोबाइल ‘स्विच अफ’ गरी सम्पर्कविहीन भएपछि खैलाबैला मच्चिएको थियो । जनमोर्चाकी सांसद पियारी थापाले बुधबारै आफ्ना सांसदको अवस्था अज्ञात रहेकाले सार्वजनिक नहुँदासम्म सदनको काम कारबाही नचलाउन संसद् सचिवालयमा निवेदन दिएकी थिइन् । सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि संसद् स्थगित गरेका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७