एमालेको उपहार : ‘गुन्डा’ लाई मन्त्री


१७ बैशाख २०७८, शुक्रबार
Deepak manange 1

पोखरा, १७ बैसाख । गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सहयोगी नेतामध्ये एक रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता जोगाउनकै लागि मनाङेलाई मन्त्री नियुक्त गरेपछि चौतर्फीरूपमा एमाले र गुरुङको विरोध भएको छ ।

गुन्डागर्दीमा चर्चा कमाएका मनाङेको अपराधकर्मको यात्रा ठमेलबाट सुरु भएको थियो । ठमेलका दुई गुन्डा चक्रे मिलन र मनाङेले फरकफरक स्थान विशेषमा गुन्डागर्दीमा राज गर्दै आएका थिए । चक्रे मिलन सुरुदेखि नै एमालेसँग निकट भएर गुन्डागर्दी गर्थे भने मनाङे कांग्रेस, राजावादी, संघीय समाजवादी हुँदै एमाले प्रवेश गरेका हुन् । ०५०र५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि मनाङेको दादागिरी सुरु भएको थियो । हप्ता असुली, धम्क्याउने र कवाडी संकलन उनको प्रमुख पेसा बन्यो ।

उनको आपराधिक यात्रामा चक्रे मिलन बाहेक अरू कोही प्रतिस्पर्धी नदेखिएपछि उनीहरूले क्षेत्र बाँडेर गुन्डागर्दी गर्न थाले । होटल, रेस्टुरेन्ट, बारमा कहीं कतै भेट भयो भने ‘ग्याङ फाइट’ पर्ने गरेको थियो । ०६८ सालमा भूमिगतजस्तै भएका मनाङेलाई धेरै पटक प्रहरीले पक्राउ गर्दै मुद्दा चलाएको थियो । प्रदेश सांसद भएकै बेला उनीमाथि प्रहरीले रेड नोटिस पनि जारी गरेको थियो ।

मनाङेविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दासमेत चलाएको थियो तर उनले सफाइ पाए । करिब २५ वर्षदेखि राजधानीको गुन्डागर्दीमा संलग्न भए पनि उनको देशव्यापी नेटवर्क थियो । गुन्डागर्दीसँगै उनले ठेक्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालन गर्थे । अपराधकर्ममा रमाए पनि मनाङे पछिल्लो पटक आफूलाई समाजसेवीका रूपमा चिनाउने गर्थे । राजनीति गरे सबै प्रकारका अपराधबाट मुक्ति पाइन्छ भन्ने अभिप्रायले राजनीतिक दलमा छिरेका मनाङेले बिहीबार मन्त्री बनेपछि सांसद जित्ने भनेकै मन्त्री बन्न हो भन्ने अभिव्यक्ति दिएका छन् ।

‘अपराध लुकाउने थलोको रूपमा राजनीति प्रयोग भएको छ । यसले राजनीतिलाई राम्रो बनाउँदैन, सङ्लो बनाउँदैन। यस्ता व्यक्ति राजनीतिमा आउँदा राजनीति आफैं लजाउँछ’, नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले मनाङेको नियुक्तिबारे छोटो टिप्पणी गरे । नवराज सिलवाल, देवेन्द्र सुवेदी, सर्वेन्द्र खनाल, पुष्कर कार्की, रमेश खरेललगायत नेपाल प्रहरीका तत्कालीन दर्जन अधिकारीले मनाङेलाई पक्राउ गरेर मुद्दा चलाएका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७