राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच दल दर्ता


१७ बैशाख २०७८, शुक्रबार
nirbachan aayoga

काठमाडौं, १७ बैसाख । राष्ट्रियसभाको रिक्त एक पदका लागि हुन लागेका उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् ।
उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोगमा दल दर्ता गराएका आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उपनिर्वाचनका लागि एमालेलाई सूर्य चिह्न र क्रम १, कांग्रेसलाई रुख चिह्न र क्रम २, माओवादी केन्द्रलाई गोलाकार भित्र हँसिया हथौडा चिह्न र क्रम ३, राप्रपालाई हलो चिह्न र क्रम ४ तथा नेमकिपालाई मादल चिह्न र क्रम ५ का क्रममा मतपत्रमा समावेश गरिने आयोगले जनाएको छ ।

आगामी जेठ ६ गते बिहीबार बागमती प्रदेशको रिक्त एकपद राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा वादलले दल त्याग गरेर एमालेमा प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनको लागि एमालेले वादललाई नै उम्मेदबार बनाउने भएको छ । अन्य राजनीतिक दलले भने अझै उम्मेदबार तय गरेका छैनन् । उपनिर्वाचनमा बागमती प्रदेशका ११० जना प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी ३४८ मतदाता कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७