वैकल्पिक सरकारको सम्भावना कायमै : देउवा


१८ बैशाख २०७८, शनिबार
deuwa

काठमाडौं, १८ बैसाख । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने प्रयास गरिरहेको बताएका छन् । देउवाले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै अहिल्यै वैकल्पिक सरकार बनाउन आफूसँग बहुमत नपुगेको, तर सम्भावना कायम रहेको बताएका हुन् ।

‘कांग्रेसले वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ, तर संख्या पुग्नुपर्छ । संख्या नपुगुन्जेल मैले प्रधानमन्त्री हुन्छु भनेर चाहेर हुँदैन । मैले चाहेन भनेर गलत प्रचार भएको छ, अहिले मैले चाहेर मात्रै हुने अवस्था छैन,’ देउवाले भने ।

त्यसो भए अब अविश्वासको प्रस्ताव कहिले दर्ता हुन्छ त ? भन्ने पत्रकारको प्रश्नमा देउवाले उल्टै प्रतिप्रश्न गरे । ‘अविश्वासको प्रस्ताव केका लागि ल्याउने, त्यो पास हुनुपरेन ?’ देउवाले भने, ‘कांग्रेसले अविश्वासको प्रस्ताव पारित हुने सुनिश्चित भएपछि मात्रै दर्ता गर्ने हो । अहिले दर्ता गरेर फेल भयो भने एक वर्षसम्म फेरि प्रस्ताव नै लैजान पाइँदैन, कांग्रेसले किन त्यस्तो गर्छ ?’

देउवाले पार्टीभित्रै सभापति सरकारमा जान चाहँदैनन् भनेर गलत प्रचार भएको बताए । ‘मैले के गरेँ, कसलाई भेटेँ, सबै कुरा तपाईंलाई किन भन्ने ?’ तपाईंले ओलीलाई बिदा गर्न मान्नुभएन भन्ने आरोप छ नि भन्ने प्रश्नमा देउवाले भने, ‘बहुमत पुगेको छैन, बहुमत नपुगी अविश्वासको प्रस्ताव लैजाने कुरा हुँदैन, भित्रभित्रै कुराकानी भइरहेकै छ ।’

देउवाले एमसिसीका विषयमा पनि गलत प्रचार भएको बताए । संसद्बाट पास गराउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सघाउने भनेको सुनाउँदै देउवाले एमसिसी नेपालकै हितमा भएको दाबी गरे । ‘एमसिसी मैले मात्रै भनेको होइन, यो सुशील कोइराला र बाबुराम भट्टराईकै पालादेखि आएको हो,’ देउवाले भने, ‘यो केवल ग्रान्ट हो । सित्तै दिएको हो । यसमा ब्याज तिर्नुपर्दैन, यो ऋण होइन । तर, नराम्रो हल्ला फैलाइएको छ । अमेरिकी सेना आउँछ भनिएको छ । मैले सेना ल्याउन दिन्छु होला ? झुटा प्रचार गरेर हुन्छ ?’

देउवाले पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सधैँ आफूलाई आरोप मात्रै लगाउँदै आएको गुनासो गरे । तर, कांग्रेसमा बोल्ने छुट भएको बताए । तपाईंले नयाँ सरकार बनाउने कुरादेखि पार्टीको महाधिवेशनको तयारीमा पनि लिंगरिङ गर्नुभयो भन्ने उहाँको आरोप छ नि भन्ने प्रश्नको जवाफमा देउवाले भने, ‘उहाँलाई कति भन्ने ? मलाई पार्टी सभापति भएदेखि नै यस्तै आरोप लगाउँदै आउनुभएको हो । तर, कांग्रेसमा त्यो छुट छ, बोल्न पाइन्छ । म ओलीजस्तो बोल्दैमा कारबाही गरेर निकाल्दिनँ ।’

देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन तोकिएकै मितिमा गर्नुको अर्को विकल्प नभएको बताए । ‘महाधिवेशन भदौमै गर्नुको अर्को विकल्प केही छैन । नेपालको संविधानअनुसार कुनै हालतमा पनि पार्टीको महाधिवेशन हुनैपर्छ । विकल्प खोज्न नेपालको संविधान संशोधन गर्नुपर्छ । त्यसका लागि संसद्मा दुईतिहाइ चाहिन्छ,’ उनले भने, ‘कांग्रेससँग त्यो छैन, त्यसैले विकल्प छैन ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७