देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा


१९ बैशाख २०७८, आईतवार
rain

काठमाडौं, १९ बैसाख । देशका धेरै स्थानमा आज (आइतबार) विहानैदेखि पानी परिरहेको मौसमविदले बताएका छन् । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आइतबार बिहानैदेखि काठमाडौं उपत्यका एवं पूर्वी नेपालको प्रदेश–१ मा मौसम बदली भएको छ ।
मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश–१ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने अनुमान गरिएको छ ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा अहिले देखिएको प्रि–मनसुनको अवस्था मंगलबारसम्म लम्बिने अनुमान गरिएको छ । देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ ।

वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मंगलबारसम्म नै साँझपख मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । आइतबार बिहानको हल्का वर्ष ९ बजेसम्ममा रोकिने र दिउँसो र साँझ फेरि सामान्य बदली भई देशका पहाडी भूभाग र प्रदेश–१ को सबै जिल्लामा हावाहुरीसहित सामान्य वर्षा हुने सम्भावना रहेको श्रेष्ठले जानकारी दिए ।

विभागका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २ र वागमती प्रदेश लगायतका पहाडी भू–भागमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना छ ।

यस्तै मंगलबार भने प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७