माजोङ क्यासिनोमा नेपालीको लर्को


१२ फाल्गुन २०७४, शनिबार
majong casino binod shrestha

काठमाडौं, १२ फागुन । एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री वामदेव गौतमले क्यासिनोलाई अपराध जन्माउने कारखानाको संज्ञा दिएका थिए । गौतमले त्यसै क्यासिनोलाई अपराध जन्माउने कारखाना भनेका थिएनन् । क्यासिनोमा जाने लतकै कारण वीरेन प्रधानले ८ बर्षअघि १९ बर्षीया ख्याती श्रेष्ठको हत्या गरेको खुलेपछि उनले अपराधका कारखानाको संज्ञा दिएका थिए । ख्याती श्रेष्ठको हत्यापछि क्यासिनोलाई ब्यवस्थित गर्ने, नेपाली नछिराउने र नयाँ नियमावली ल्याउने काम भयो । बीचमा नेपालीहरु क्यासिनोमा प्रवेश गर्ने क्रम रोकिएको थियो । तर पछिल्ला दिनमा पुनः नेपालीहरु क्यासिनोमा जाने क्रम बढेको छ ।majong casino binod shrestha

सोल्टी होटल परिसरमा सञ्चालित माजोङ क्यासिनोमा खुलेआम नेपालीहरू प्रवेश गरिरहेका छन् । क्यासिनोहरूमा नेपाली प्रवेश कानुनले नै बन्देज गरेको छ । तथापि माजोङ क्यासिनोमा भने दैनिक २० भन्दा बढी नेपालीहरू प्रवेश गरी खुलेआम जुवा खेलिरहेको देख्न सकिन्छ ।

माजोङ क्यासिनोका मुख्य सञ्चालक विनोद श्रेष्ठले महानगरीय प्रहरी वृत्त कालिमाटी र मातहतमा रहेको सिआरभी टोलीसमेतलाई मिलाएर मात्र होइन अपराध महाशाखालाई समेत मिलाएर नेपाली प्रवेशलाई सहज बनाएको स्रोतले जानकारी दिएको छ ।

गत आइतवार एक नेपाली जुवाडेसँग संयोजन गरी अनुसन्धानकै सिलसिलामा जाँदासमेत २२ जना नेपाली खुलेआमरूपमा जुवा खेलिरहेका देखिएको थियो । त्यसको भोलिपल्ट ३२ जना नेपाली थिए । शनिवार त ४० जना नेपाली भएको समेत क्यासिनोकै कर्मचारीले जानकारी दिएका छन् । यी प्रवेश गर्ने नेपालीहरू पेशेवररूपमा नै जुवा नखेली बस्नै नसक्ने जुवाडेहरू हुन् । जुवाको लत बसिसकेका कारण कुनै न कुनै रूपमा जुवा खेल्नै पर्ने भएपछि उनीहरू क्यासिनोलाई सबैभन्दा सुरक्षित र संरक्षित ठाउँको रूपमा लिने गरेको ती कर्मचारीले बताए । बाहिर जुवा खेल्दा जुनसुकै बेला पनि पक्राउ पर्न सकिने डर भएका कारण क्यासिनोमा त्यो

सम्भावना कम सँगसँगै भाग्न र बच्न सकिने भएका कारण पनि जुवाडेहरूले क्यासिनोलाई आफ्नो सुरक्षित जुवा अखडाका रूपमा लिएको उनले बताए । माजोङमा मध्यराति १२, १२ः३० बजेपछि नेपालीहरूलाई प्रवेश गराइन्छ । त्यसभन्दा अगाडि कसैले निगरानी गर्न सक्ने भएकै कारण उक्त समयपछि नेपालीहरूलाई प्रवेश गराइएको हो । प्रवेश गराइएका नेपालीहरूलाई नक्कली कार्डका माध्यमबाट प्रवेश गराइन्छ ।

binod sherstha
संचालक विनोद श्रेष्ठ ।

सिक्किम, दाजिर्लिङ, आसाम अर्थात् भारतीय नेपाली भाषीहरूको नाममा नक्कली कार्ड बनाएर ती जुवाडेहरूलाई प्रवेश गराइन्छ । आइतवारका दिन बौद्धका राजु लामाले त झण्डै २ करोड रूपैयाँ जुवा खेलेर हारेको स्रोतले बताएको छ ।

माजोङमा नेपालीहरू प्रवेश गराई जुवा खेल्ने–खेलाउने र लगानी गर्ने काममा राजु लामा, अरूण सेढाइँ र धावा सेठ्ठीको समूह सक्रिय रहेको छ । उनीहरूले नै जुवाडेहरूको खोजी र प्रवेश गराउने काम गर्दछन् भने हारेका खण्डमा लगानीसमेत गरिदिने गर्दछन् । प्रहरीले प्रवेश गरी पक्राउ गर्न सक्ने भनी उनीहरूले त्यस्तो अवस्थामा लुट्नका लागि क्यासिनो सञ्चालन भइरहेको स्थान मुनिको अण्डरग्राउण्डलाई सुरक्षित ठाउँका रूपमा प्रयोग गर्ने गर्दछन् ।

माजोङमा अक्सर २० देखि ३० जना नेपालीहरू जुवा खेल्नकै लागि प्रवेश गर्दै आएका छन् । जबकि यसभन्दा अघि रविन्द्र धानुकको कार्यकालमा यसरी नै नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाएको गुनासो आएपछि छापामार्ने क्रममा १९ जना नेपालीहरू पक्राउ परेका थिए ।

माजोङमा नेपालीहरू प्रवेश गराई जुवा खेलेको यी दुई मात्रै उदाहरण होइनन्, यसभन्दा अघि पनि बारम्बार प्रहरीले निगरानी गर्दै पक्राउ गरेको छ । तर, परिसरको टोलीले मात्रै पक्राउ गरेको छ । न त केरकारले नै छापा मार्छ, न त कालिमाटी वृत्तले नै । क्यासिनोहरूमा नेपाली प्रवेश गरी जुवा खेलेकै कारण धेरै घरबार विहीन भएका, दाम्पत्य जीवन बिथोलिएको, कतिले आत्महत्या गरेका घटनाहरू बढ्दै गएपछि क्यासिनोमा नेपाली प्रवेशलाई रोक लगाउने पहिलो श्रेय रमेश खरेललाई जान्छ । उनी काठमाडौँको एसपी हुँदा नेपाली प्रवेशमा रोक मात्रै लगाएनन् कि यदि नेपाली प्रवेश गरी जुवा खेलाएको अवस्थामा पक्राउ परेमा क्यासिनो सञ्चालकलाई नै कारवाही गर्ने र क्यासिनोको दर्ता खारेजका लागि समेत कारवाही गर्न सक्ने अभियान चालेसँगै नेपाली प्रवेशमा कमी आएको थियो ।

hemanta kolapati
माजोङका कार्यकारी निर्देशक हेमन्त कोलाक्षपती ।

हुँदाहुँदा क्यासिनो सञ्चालकको सम्बन्ध स्थानीय प्रहरी युनिटसँग कस्तो छ भन्ने कुरा क्यासिनो माजोङ वरपर जाने जोकोहीले पनि देख्न सक्छ । वृत्तका प्रहरीदेखि नजिकको सिआरभीको टोली युनिफर्म लगाएरै माजोङमा खाजा र भात लिन पुग्दछन् । दिनमा दुई पटकसम्म उनीहरू खाजा र भात लिन जाने गरेको जोकोहीले पनि सहजै देख्न सक्छ । यसबाट थाहा हुन्छ कि क्यासिनो सञ्चालक विनोद श्रेष्ठ र स्थानीय प्रहरीको सम्बन्ध । विनोद श्रेष्ठ मुख्य सञ्चालक रहे पनि माजोङ क्यासिनोमा सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङका छोरा विकास चाम्लिङ, हेमन्त कोलक्षपति र आङछिरिङ शेर्पाको समेत लगानी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७