विधानसभा निर्वाचन : भारत पश्चिम–बंगालमा ‘दिदी’ को पार्टी शानदार विजय उन्मुख


१९ बैशाख २०७८, आईतवार
India west bangal

काठमाडौं, १९ बैसाख । भारतको पश्चिम बंगालमा गराइएको विधान सभा निर्वाचनमा तृणमूल कंग्रेसले भारतीय जनता पार्टीलाई निकै अन्तरले हराउने देखिएको छ । वर्तमान मुख्यमन्त्री एवं तृणमूल कंग्रेसकी नेतृ ममता बनर्जी र भाजपा नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीबीचको निर्वाचनका रुपमासमेत हेरिएको यस निर्वाचनमा बनर्जीले बाजी मार्ने निश्चित देखिएको छ ।

निर्वाचन रुझानले बनर्जीको पार्टी २१५ स्थानमा अगाडी हुँदा मोदीको भाजपा जम्मा ७६ सीटमा समेटिएको छ । अरु दलको उपस्थिति नगण्य देखिएको छ । कुनैबेला राज्यमा कब्जाझै जमाएका कम्युनिष्टहरु जम्मा एक सीटमा जित्ने देखिँदैछ ।

२९४ सिट रहेको पश्चिम बंगालमा दुई कार्यकाल लगातार शासन गरेकी बनर्जीलाई हटाउन प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले सम्पूर्ण शक्ति केन्द्रित गरेका थिए । मत परिणामको अहिलेसम्मको रुझान हेर्दा सबैबाट ‘दिदी’ उपनाम पाएकी ममताको किल्ला भत्काउन मोदी–शाह जोडी विफल हुने प्रष्ट देखिएको हो । तृणमूल कांग्रेसको यस जीतमा भारतका विपक्षी दलहरुले पनि बधाई दिन थालेका छन् ।

यद्यपि, भाजपाले पाँच वर्ष पहिलेको तुलनामा यसपटक निकै राम्रो प्रदर्शन गर्ने देखिएको छ । सन् २०१६ मा जम्मा तीन सिटमा समेटिएको भाजपाले ८० सिट वरपर जित्नसक्ने देखिँदैछ । सबैभन्दा ठूलो हार भने विपक्षी भारतीय कंग्रेसले व्यहोर्दै छ । पाँच वर्षअघि ४४ सिट जितेको कंग्रेस १ सिटमा मात्र अगाडि छ । त्यसैगरी, अघिल्लो चुनावमा २६ सिट जितेको कम्युनिष्ट पार्टी अफ इन्डिया (मार्स्कवादी) पनि एक सिटमा समेटिने देखिँदैछ ।

पश्चिम बंगालका अतिरिक्त एक केन्द्र प्रशासितसहित पाँच राज्यमा भएको विधान सभा निर्वाचनको मतगणना भइरहेको हो । नयाँ नेतृत्वका लागि गत मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बंगाल, असम र पुडुचेरीमा निर्वाचन गरिएको थियो । तमिलनाडुको २३४ सदस्यीय विधान सभामा प्रतिपक्षी डिएमकेले १२९ स्थानमा अग्रता लिँदा सत्तारूढ एआइएडिएमके ९० स्थानमा अगाडि छ । १४० सिटको केरल विधानसभामा मुख्यमन्त्री पिनरई विजयन नेतृत्वको लेफ्ट डेमोक्रेटिक फ्रन्ट जित नजिक छ ।

१२६ सदस्यीय विधान सभा भएको असममा सत्तारूढ भारतीय जनता पार्टीले ७३ स्थानसहित सरकार बनाउने हैसियतमा देखिँदैछ । केन्द्र प्रशासित पुडुचेरीको ३० सिटमा भने भाजपा १६ र कंग्रेस आई १२ स्थानमा अगाडि छन् । २०१६ मा कंग्रेसले १७ सिट जितेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७