चीनले २० हजार थान अक्सिजन सिलिन्डर दिने, स्थल र हवाइमार्गबाट ल्याउन समन्वय हुँदै

काठमाडौं, २० बैसाख । चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ । ती सिलिन्डरलाई चाँडो काठ्माडौं ल्याउन समन्वय भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । यसै साता दक्षिण एसियाली मुलुकका पाँच विदेशमन्त्रीसँगको छलफलमा चीनले क्षेत्रीय सहकार्यसहितका विषयमा नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।
कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण बढिरहेको परिस्थितिमा चीनले नेपाललाई ९ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री पनि उपलब्ध गराउने जनाइसकेको छ । चीनले दिने भनेको ती सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको पनि प्रवक्ता गौतमले जानकारी दिएका छन् । पछिल्लो समय नेपालमा पनि अक्सिजन सिलिन्डरको माग बढेपछि सरकारले सिलिन्डर होल्ड नगर्न भनेको छ ।
कोभिड संकट व्यवस्थापन केन्द्रका सचिव खगराज बरालका अनुसार सीसीएमसीको शुक्रबारको बैठकमा पनि चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेकामध्ये दुई हजार सिलिन्डरलाई जहाजबाट ल्याउनेबारे छलफल भएको थियो । ती सबै सिलिन्डर ल्याउन ३० भन्दा बढी उडान गर्नुपर्ने भएकाले सरकारले स्थलमार्गबाटै ल्याउने तयारी थालेको हो ।