महन्थ–राजेन्द्र पक्षको जसपा सांसदलाई निर्देशन : काठमाडौं नछाड्नू


२० बैशाख २०७८, सोमबार
mahantha rajendra

काठमाडौं, २० बैसाख । जनता समाजवादी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महत्तो पक्षले आफ्ना सांसदलाई काठमाडौं नछाड्न र बाहिर भए तत्काल आउन उर्दी जारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेपछि ठाकुर पक्षले आफू निकट सांसद तथा नेताहरुलाई यस्तो निर्देशन दिएको हो । तत्काल पार्टीको बैठक बोलाउनका लागि सहज होस् भनी कार्यकारिणी सदस्य र सांसदलाई काठमाडौं नछोड्न भनिएको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताएका छन् । ‘यो पक्ष वा अर्को पक्ष नभनौं, विकसित राजनीतिक घटनाक्रममा तत्काल निर्णय लिनका लागि उहाँहरुलाई काठमाडौंमै बस्न भनिएको हो’, उनले थपे, ‘यो सबै पार्टीको कुरा हो ।’

ठाकुर पक्षले काठमाडौं नभएका सांसद र कार्यकारिणी सदस्यलाई पनि काठमाडौं बोलाएको अर्का एक नेताले जानकारी दिएका छन् । संसद बैठकअघि नै अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलमा बहुमत पुर्‍याउन प्रयास गरिरहे अनुसार उनीहरुसँग छलफलका लागि काठमाडौं बोलाएको स्रोतको भनाइ छ ।

पार्टीका सांसद र नेताहरुसँग छलफल गर्नु स्वभाविक भएको जसपा वरिष्ठ नेता राजेन्द्र महतो बताउँछन् । ‘पार्टीका नेताहरुसँग निरन्तर छलफलमै छौं,’ महतोले भने, ‘अहिलेको राजनीतिक परिस्थिति पनि त्यस्तै छ ।’ पार्टीभित्र बहुमत र अल्पमतको खेल भएको भन्दै उनले असन्तुष्टि जनाए । बहुमतको आधारमा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने जाने अवस्थाले भोलि को कहाँ रहने भन्ने प्रश्न उब्जाएको उनले बताए ।

१२० जनाको मुद्दा फिर्ता गरेर सरकारले केही सहज वातावरण बनाए पनि महत्वपूर्ण बुँदा पुरा नभएको उनले बताए । प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने विषयमा जसपाभित्र डा. बाबुराम भट्टराई, उपेन्द्र यादवको मत र महन्थ ठाकुरको मत फरक छ । ठाकुर पक्ष ओलीप्रति नरम देखिए पनि भट्टराई र यादव भने ओलीलाई तत्काल हटाउनु पर्ने पक्षमा छन् ।

संघीय संसदमा जसपाका ३४ सांसद छन् । जसमा एक जना निलम्बित छन् भने रेशम चौधरी जेलमा छन् । कार्यकारिणी समिति र संसदीय दलमा भट्टराई–यादव पक्षले आफूहरु बहुमतमा रहेको दावी गर्दै आएका छन्। यसअघि महन्थ पक्षले बोलाएको सांसदको भेलामा ९ जना उपस्थित भएको आधारमा भट्टराई–यादव पक्षसँग करिब २३ सांसद रहेको देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७