पार्किङ गरेको कारभित्र तीन बालकको शव

निष्पक्ष छानबिन र कारबाहीका लागि दलित आयोगद्वारा ध्यानाकर्षण


२१ बैशाख २०७८, मंगलवार
dang car C2D7gVjk0M

दाङ, २१ बैसाख । दाङमा चार महिनादेखि पार्किङ गरेर राखेको कारभित्र तीन दलित बालकको शव नग्न–अर्धनग्न अवस्थामा भेटिएको घटनाप्रति राष्ट्रिय दलित आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगसहितका संघसंस्थाले अपहरणपछि हत्या गरिएको भन्दै घटनाको अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारनजिक पार्किङ गरिएको भारतीय नम्बर प्लेट जे ०१ सिसी ०८८५ नम्बरको निशान कारभित्र शनिबार शव भेटिएका थिए । तीनै बालक तुलसीपुर–६ कै बरुवागाउँका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार किरण परियारका ६ वर्षीय छोरा करण, सन्तोष परियारका सात वर्षीय छोरा सुवास भनिने सुवर्ण र भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देशको शव कारमा भेटिएको थियो । प्रहरीले कारधनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

परिवारका अनुसार तीनै बालक १६ वैशाखदेखि बेपत्ता थिए । त्यसको तीन दिनपछि कारभित्र शव भेटिएको हो । राष्ट्रिय दलित आयोगकी सदस्य मीनादेवी सोवले आइतबार जारी गरेको विज्ञप्तिमा घटना शंकास्पद रहेको भन्दै स्वतन्त्र र विश्वसनीय छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न तथा दोषीउपर कानुनी कारबाही गर्न माग गरिएको छ ।

‘लक गरिएको गाडीभित्र नग्न तथा अर्धनग्न अवस्थामा शवहरू भेटिएको सूचना तथा समाचारहरूले गम्भीर आशंका सिर्जना गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सिंगो दलित समुदायलाई स्तब्ध बनाउने घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

त्यस्तै, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विश्वकर्माले पनि घटनाको स्पष्ट छानबिन गरी पीडितलाई क्षतिपूर्ति र हत्यारालाई हदैसम्मको कारबाहीको माग गरेका छन् । ‘कोरोनाको दोस्रो लहरको कहरबीच हत्याराहरूले नाबालकहरूलाई अपहरण गरी हत्या गरेको आशंका सर्वत्र उत्पन्न भएको छ । आफन्तका अनुसार ती बालक वैशाख १६ गतेदेखि हराइरहेका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी तीन दिनदेखि बेपत्ता भएका तीन–तीन जना बालकको खोजी कार्यमा सरकारले गरेको लापरबाहीले उनीहरूको हत्या भएको सहजै अनुमान गर्न सकिन्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७