ज्वालाको प्रष्टीकरण : सत्य र निष्ठाका लागि विद्रोह गर्न जतिबेला पनि तयार छु (पूर्णपाठ)

‘कर्णालीमा फ्लोर क्रस होइन, पार्टी निर्णय कार्यान्वयन’


२१ बैशाख २०७८, मंगलवार

सुर्खेत, २१ बैसाख । नेकपा एमालेले कारबाही गरेका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ नगरेको जिकिर गरेका छन् ।
पार्टीको पोलिट् ब्युरोमा जिम्मेवारीमा रहँदा पनि कुनै जानकारी नदिइ प्रदेश कमिटीमा एकलौटी गरिएको र सरकारलाई पार्टी निर्णय विपरीत असहयोग गर्दा पनि नेतृत्वले स्पष्टीकरण नसोधेको दुःख व्यक्त गरेका छन् ।

‘मलाई जानकारी नदिई इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव मनोनित गरियो । मलगायत जिम्मेवार कमरेडहरूलाई बिना कारण जिम्मेवारीविहीन बनाइयो । पार्टीका नाममा गरिएका प्रदेश तथा जिल्लाका बैठक, भेलालगायतका कार्यक्रमहरूमा हामीलाई पूर्णरूपमा निषेध गरियो । पार्टीभित्रको गुटगत अत्याचारले सीमा नाघे पनि हामीमाथि भइरहेको अत्याचारमा शीर्ष नेतृत्वले कुनै सुनुवाइ गरेन’, उनले विज्ञप्तिमार्फत् भनेका छन् ।

उनले पार्टीको केन्द्रको निर्णयअनुसार बनेको सरकारको पक्षमा मतदान गरेकाले यसलाई फ्लोर क्रसका रूपमा बुझ्नु नहुने उनको भनाइ छ ।
‘पार्टी केन्द्रको निर्णयअनुसार बनेको सरकारका पक्षमा हामीले मतदान गरेका हौं । यो कुनै फ्लोर क्रस होइन, पार्टी निर्णयको कार्यान्वयन हो । यो प्राविधिक र व्यक्तिगत विषय पनि होइन, यो राजनीतिक निर्णय हो’, उनले भनेका छन् ।

ज्वालाको स्पष्टीकरणको पूर्णपाठ
कर्णाली प्रदेशसभामा सरकारले विश्वासको मत लिने क्रममा भएको मतदानको विषयलाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणी गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ । पार्टीको एक जिम्मेवार कार्यकर्ता र सल्यान ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्यको हैसियतमा भ्रमपूर्ण प्रचारलाई चिर्न र वास्तविकता प्रष्ट पार्न मेरा सम्मानित मतदाता, आम जनसमुदाय र पार्टी पंक्तिमा यो अपिल जारी गरेको छु ।

कर्णाली प्रदेश सरकारका विषयमा नेकपा (एमाले) केन्द्रीय र प्रदेश कमिटीले हालसम्म कुनै आधिकारिक निर्णय गरेको छैन । पार्टी केन्द्र र प्रदेशले कुनै औपचारिक निर्णय वा निर्देशन नदिँदै केही व्यक्तिको सत्ताभोक र कुन्ठाले सरकारलाई दिइएको समर्थन फिर्ता लिइयो र सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्देशन दिइयो । यो पार्टीको निर्णय, निर्देशन एवं विधि पद्धति विपरीत थियो । तर पनि पार्टीलाई एकतावद्ध बनाउने असल नियतका साथ सरकारमा सहभागी हामी तीन मन्त्रीले राजीनामा दिएको सर्वविदितै छ । मन्त्रीबाट राजीनामा दिएपछि कर्णालीमा एमालेलाई एकताबद्व बनाउन मैले हदैसम्म कोशिस गरे । तर पनि केही व्यक्तिको दम्भले कर्णालीमा पार्टी एकताबद्ध हुन सकेन । संसदीय दलका नेता एवं पार्टी नेतृत्वबाट सरकार गठन र सञ्चालन एवं पार्टी सञ्चालनका विषयमा हामी जिम्मेवार कमरेडहरुसँग कुनै समन्वय, परामर्श र छलफल भएन ।

संसदीय दल र पार्टीलाई कम्यूनिष्ट पद्धतिमा नभई गुटका रुपमा एकलौटी चलाउने काम भयो । म नेकपा (एमाले) नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पोलिटव्यूरो सदस्य हुँ । पार्टी एकीकरणपछि कर्णाली प्रदेश कमिटीको सह–इन्चार्जको जिम्मेवारी दिइयो । पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेको व्यक्ति म स्वयंलाई समेत जानकारी नदिई प्रदेश कमिटीमा एकलौटीरुपमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनित गरियो ।

मलगायत जिम्मेवार कमरेडहरुलाई विना कारण जिम्मेवारीविहीन बनाइयो । पार्टीका नाममा गरिएका प्रदेश तथा जिल्लाका बैठक, भेला लगायतका कार्यक्रमहरूमा हामीलाई पूर्णरुपमा निषेध गरियो । पार्टीभित्रको गुटगत अत्याचारले सिमा नाघे पनि हामीमाथि भइरहेको अत्याचारमा शीर्ष नेतृत्वले कुनै सुनुवाई गरेन ।

पार्टी केन्द्रको निर्णयअनुसार बनेको प्रदेश सरकार गठनदेखि नै असहयोग र विरोध गरेर काम गर्न नदिने र सरकारलाई हटाउन हस्ताक्षर अभियानदेखि नीति, कार्यक्रम र बजेट पास हुन नदिन पटक पटक असफल प्रयास गरियो । पार्टी निर्णयविपरीत यस्ता अराजक क्रियाकलाप गर्नेमाथि कहिले स्पष्टीकरण समेत सोधिएन । तसर्थ पार्टीको निर्णय र विधिविपरीतको निर्णय मान्न हामी तयार भएनौं । पार्टी केन्द्रको निर्णयअनुसार बनेको सरकारका पक्षमा हामीले मतदान गरेका हौं । यो कुनै फ्लोर क्रस होइन, पार्टी निर्णयको कार्यान्वयन हो । यो प्राविधिक र व्यक्तिगत विषय पनि होइन, यो राजनीतिक निर्णय हो ।

सर्वोच्च अदालतको फैसलापछि एमाले एकीकरण पूर्व २०७५ जेठ ३ को अवस्थामा फर्केको सवैलाई जगजाहेर छ । अदालतको आदेशअनुसार पार्टीका सम्पूर्ण संगठन र संरचना जेठ ३ कै अवस्थामा पूर्नवहाली हुनुपर्ने हो । जेठ २ को हैसियतमा पार्टीको केन्द्रीय र स्थायी कमिटीका बैठक बसेर अगाडि बढ्नु पर्नेमा केन्द्रिय पदाधिकारी र सदस्यहरुलाई सूचना नै नगरी सीमित व्यक्तिको उपस्थितिमा २८ फागुनमा गुटगत बैठक बोलाइयो । त्यो गुटगत बैठकका निर्णयहरू देशव्यापी रुपमा एमालेका नेता, कार्यकर्तालाई स्वीकार्य छैन । समस्याको मुल जड यही हो ।

कर्णाली प्रदेशमा संसदीय दलको नेता २०७५ जेठ अगाडिकै कायम हुने तर पार्टी नेतृत्व फागुन २८ गतेको निर्णय अनुसार हुनुपर्ने दोहोरो मापदण्ड अपनाइयो । पार्टी भित्रका समस्या व्यवस्थापन गरेर पार्टी एकतालाई सुदृढ गर्न मन्त्री पद समेत त्यागेर हामी खुल्ला छलफलमा आएका थियौ तर केन्द्रदेखि स्थानीय स्तरसम्म समस्याहरू बढाउँदै गुटगत रूपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्नु स्वभाविक थियो । कर्णालीको कदमले पार्टीभित्र देखा परेका समस्या समाधान गर्न, पार्टीलाई विधि सम्मत सञ्चालन गर्न र एकताबद्ध बनाउन ढिलो चाँडो मद्दत गर्नेछ भन्ने मेरो विश्वास छ ।

केही अराजक व्यक्तिहरुबाट मलाई आर्थिक प्रलोभनजस्ता भ्रामक आरोप लगाउने दुष्प्रयास भएका छन् । तिनीहरूलाई मैले कहि कतैवाट आर्थिक लाभ लिएको प्रमाणित गर्न चुनौति दिन्छु । आर्थिक आचरण र पारदर्शिताका सवालमा मलाई चिन्ने र बुझ्ने कसैमा पनि भ्रम छ जस्तो लाग्दैन । यतिबेला जीवनभरिको मेरो पार्टीप्रतिको निष्ठालाई भ्रमित गर्ने कोसिस गरिएको छ । मेरा विरुद्धमा फैलाइएका प्रचारहरुमा कुनै सत्यता नभएको र कपोलकल्पित भ्रममा नपर्न आम पार्टीपंक्ति र जनसमुदायमा निवेदन गर्न चाहन्छ । अर्को, मलाई कारबाही गरिएको प्रचार पनि गरिएको छ ।

जतिवेला विद्यार्थी कालमा कम्युनिष्ट पार्टीको झण्डा बोकें, त्यतिबेला पञ्चायतले झुठा मुद्दा लगाएर जेल हाल्यो । बहुदल कालमा कांग्रेसले सांघातिक आक्रमणको कारबाही गर्यो तर पनि हातबाट एमालेको झण्डा र मनबाट मार्क्सवाद लेनिनवादको विचार झुकेन । माओवादी जनयुद्ध कालमा दर्जनौं कारवाहीका निर्णय सुनाइए तर पनि सिंगो एमाले बचाउन र वैचारिक संघर्ष गर्न छोडिएन ।

यतिबेला वास्तविकता छानविन नगरी गरिएका एकपक्षीय र पूर्वाग्रही कारबाहीले मेरो राजनीतिक यात्रा र सामाजिक अभियानमा कुनै असर पर्नेवाला छैन । कुनै पदमा रहे वा नरहे पनि जस्तासुकै चुनौतिका विचमा पनि देश र जनताको पक्षमा निष्ठाको राजनीति गरिरहने सवैमा विश्वास दिलाउन चाहन्छु ।

अन्याय सहन र आत्मसमपर्ण गर्न कम्युनिष्ट पार्टी रोजिएको होइन, सत्य र निष्ठाका लागि विद्रोह गर्न जतिबेला पनि तयार छु । म जनताको विश्वास टुट्न दिनेछैन । अहिले मलाई एकपक्षिय कारवाहीको ढंका पिट्नेहरु कम्युनिष्ट आन्दोलन र संकटपूर्ण अवस्थामा एमालेको संगठन निर्माण गर्दा कहाँ थिए घाम जतिकै छर्लङ्ग छ । फेरि पार्टीलाई संकट पर्दा को अगाडि आउँछ समयले नै फैसला गर्ला ।

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारीमा रहदा मलाई विभिन्न किसिमले सहयोग पु¥याउने सम्पूर्ण कर्णालीबासी न्यायप्रेमी जनसमुदाय लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्छु । सल्यानी जनताले मलाई पटक पटक निर्वाचित गर्नुका साथै पछिल्लो पटक प्रदेश सभा सदस्यमा अत्यधिक बहुमतले विजयी गराएर काम गर्ने अवसर दिनु भएको छ । यस अर्थमा म सल्यानी जनता र मेरा आदरणीय मतदाताप्रति सधै ऋणी छु ।

म मन्त्री र साँसद हुँदा इतिहासमै सबैभन्दा बढी बजेट सल्यानले प्राप्त गरेको छ र विकास निर्माणका कामहरू धमाधम सञ्चालन भइरहेका छन् । यो विकास अभियान यतिमै रोकिने छैन, विभिन्न चुनौतिका बावजुद मेरो क्षमताले सकेसम्म इमान्दारीसाथ जिल्लाको विकास र जनताको सेवामा समर्पित भएर काम गरिरहन बचनवद्ध छ ।

मेरो जिल्ला र निर्वाचन क्षेत्रका जनता र मतदाताहरुसँग विनम्र अनुरोध छ कि म तपाइहरुसँगै छु, तपाइहरूकै साथमा छु, निरन्तर रुपमा गाउँ घर र वस्तीहरुमा आइरहने छु । म हर घडी तपाईंहरूको सेवा र सहयोगमा समर्पित भएर लागिरहने संकल्प गर्दछु । सल्यानी न्यायप्रेमी जनता र मेरा सम्मानित मतदाताप्रति नतमस्तक हुँदै हृदयदेखि आभार एवं धन्यवाद ज्ञापन गर्छु ।

मलाई हर प्रकारले सहयोग गर्ने र मप्रति शुभेच्छा राख्ने हाम्रो पार्टी लगायत सबै राजनीतिक दलका नेता, कार्यकर्ता, सवै तहका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, विभिन्न वर्ग, समुदाय, पेशा व्यवसायका मेरा जिल्लावासी आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाइहरु सम्पूर्णप्रति म हार्दिक कृतज्ञता एवं धन्यवाद व्यक्त गर्छु । भावी दिनहरूमा पनि आदरणीय जन समुदाय, मेरा सम्मानित मतदाता र सबै पक्षबाट यस अघिजस्तै साथ सहयोग र शुभेच्छा पाइरहने विश्वास लिएको छु ।

धन्यवाद !
प्रकाश ज्वाला नेकपा (एमाले), पोलिटव्युरो सदस्य

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७