अस्पतालले भर्ना नलिंदा कोरोनाको लक्षण देखिएका युवकको मृत्यु, शव समेत अलपत्र


२१ बैशाख २०७८, मंगलवार
death

धनुषा, २१ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार अभावमा कुनै पनि बिरामीले मर्नु नपर्ने दावी गरेको २४ घण्टा नबित्दै एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४० वर्षीय लोकबहादुर परियारको उपचार अभावमा मृत्यु भएको हो । कोरोना लागेको शंकाको आधारमा चेकजाँचका लागि जनकपुरधामस्थित सरकारी तथा निजी अस्पतालले भर्ना नलिँदा उनको मृत्यु भएको छ ।

ज्वरो, रुघाखोकी लागेका उनलाई परिवारजनले भाइरल ज्वरो रहेको भन्दै घरमै उपचार गर्दै आएका थिए । तर आइतबार राति ८ बजे श्वासप्रश्वासमा समस्या हुन थालेपछि उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।
प्रादेशिक अस्पतालको आइसोलेशनमा बेड खाली नरहेको भन्दै उनलाई फर्काइयो । त्यहाँबाट जनकपुरधामको अन्य निजी अस्पतालमा लैजाँदा कुनै पनि अस्पतालले उपचारका लागि राख्न नमानेको पीडित परिवारको भनाइ छ ।

बाध्य भएर उनलाई बटेश्वर बजारस्थित आरपी मेडिकल हलमा लगिएको थियो, जहाँ उनको मृत्यु भयो । एम्बुलेन्स चालक रामबाबु महतोका अनुसार अस्पतालहरुले पैसा डिपोजिट गर्न भनेको तर बिरामीका आफन्तले पैसा डिपोजिट गर्न नसक्दा अस्पतालहरुले बिरामीको भर्ना गर्न मानिरहेका थिएनन् । ‘एम्बुलेन्समा रहेको अक्सिजन बिरामीलाई लगाइदिएर जनकपुरधामस्थित सरकारीदेखि निजी अस्पतालसम्म भर्नाका लागि भौतारिँदै गुहार लगायौँ,’ उनले भने, ‘प्रादेशिक अस्पतालमा बेड छैन भनेर फर्काएपछि केहि निजी अस्पतालमा पनि लिएर गयौं, कसैले भर्ना गरेनन् ।’

आरपी मेडिकल हलका सञ्चालक सुवोध साहले आफूले पहिला नै यहाँ उपचार सम्भव नभएकाले अन्तै लगेर उपचार गराउन भनेको बताए । तर अन्त भर्ना नलिएपछि फर्काएर यतै ल्याइएको र बिरामीको मृत्यु भएपछि आफन्तहरुले समेत छाडेर गएको उनले बताए । हाल उनकै मेडिकल अगाडि युवकको शव बेवारिसे अवस्थामा छ । मृतकको कोही आफन्त नरहेका कारण शव व्यवस्थापनमा समस्या भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७