ओलीको भावी रणनीतिबारे ‘सुइँको’ पाएपछि नेपाल–खनाल पक्षको यस्तो तयारी


२१ बैशाख २०७८, मंगलवार
Madhav jhalanath1

काठमाडौं, २१ बैसाख । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पनि आवश्यक रणनीतिका बारेमा छलफल तीब्र बनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि नेपाल–खनाल पक्षका सांसदहरुलाई कारवाही गर्ने रणनीतिको ‘सुइँको’ पाएपछि खनाल–नेपाल पक्षले पनि आवश्यक रणनीति तय गर्न छलफल अगाडि बढाएको छ । ओलीले बैसाख २७ गते विश्वासको मत लिएपछि नेपाल–खनाल पक्षलाई कारवाही गर्न लागेको जानकारी पाएपछि नेपाल–खनाल समूहका सांसदहरु सामुहिक राजीनामा दिनेबारेमा समेत छलफलमा जुटेका छन् ।

बालुवाटारमा केपी ओलीको नेतृत्वमा बसेको बैठकले संसदबाट विश्वासको मत लिइसकेपछि माधव नेपाल पक्षका सांसदहरुलाई कारवाही गर्ने रणनीति तयार पारेको बुझिएकाले सामुहिक राजीनामाको विकल्पमाथि छलफल शुरु भएको माधव–झलनाथ समूहका नेता बताउँछन् । पार्टीभित्रको अन्तरकलह यथावत राखेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएका छन् । प्रधानमन्त्री ओली विश्वासको मत लिने निर्णयमा पुग्नुमा षडयन्त्रको गन्ध आएको भन्दै आफूहरु सामुहिक राजीनामा दिने विषयमा छलफल भएको नेता घनश्याम भुसालले जानकारी दिएका छन् ।

यसैबीच केहि नेताहरुले ओलीलाई विश्वासको मतमा समर्थन गरेर अघि बढ्नुपर्ने बताएका छन् भने केहि नेताहरुले भने सांसद पदबाट समेत राजीनामा दिनुपर्ने सम्मको मत राखेका छन् । समर्थन गर्नुपर्ने भन्ने नेताहरुको आफ्नै तर्क छ । ‘हामी त नवौं महाधिवेशनबाट पारित विधानअनुसार पार्टी चलोस् र पार्टी एकता कायम रहोस् भन्ने पक्षका भएका कारण प्रधानमन्त्रीलाई समर्थन गरेरै अघि बढौं भन्ने केहि साथीहरुको मत छ,’ नेपाल पक्षका एक नेताले भने । विधान उल्लंघन गरेर एकलौटी निर्णय गर्दै अघि बढ्ने र अर्कोतर्फ दक्षिणपन्थी र बाह्य शक्तिको साथ लिएर पार्टीभित्रको आन्तरिक मत मतान्तरलाई दबाइरहँदा उनलाई कसरी साथ दिने भन्ने मत पनि उत्तिकै बलियो रहेको नेताहरुको भनाइ छ ।

त्यसो त अहिले बैशाख २७ गते अघि नै आफ्नो समूहका सांसदहरुद्वारा राजीनामा दिनुपर्ने मत थप बलियो बन्दै गएको छ । बैशाख १० गते ओलीले बालुवाटारमा राखेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे लगायतका नेतालाई कारबाही गर्ने अनुमान गरिएको थियो ।

यी चार नेतालाई पार्टीले एकपटक स्पष्टीकरण सोधेर निलम्बन गरिसकेको छ । बैशाख ६ गते उनीहरुलाई दोहो¥याएर स्पष्टीकरण सोधेको छ । सोहि दिन, अन्य २३ जनालाई पहिलोपटक स्पष्टीकरण सोधेको थियो । तर, बैशाख १० गतेको बैठकमा उनीहरुमाथि कुनै कारबाही गरेको घोषणा गरिएन । जुन नेपाल समूहका नेताहरुको अनुमान विपरित थियो ।

ओली पक्षकै केहि नेताहरुले तय गरेको एक भित्री रणनीतिअनुसार सो बैठकमा अन्तिममा निर्णय परिवर्तन गरिएको नेपाल पक्षको भनाइ छ । सो रणनीतिअनुसार पहिले प्रधानमन्त्री ओलीले सबै एमाले सांसदहरुको समर्थनसहित संसदबाट विश्वासको मत लिने र त्यसपछि नेपाल पक्षका सांसदहरुलाई कारबाही गर्ने योजना बनाइएको हो । नेपाल पक्षले बैशाख २७ अघि नै राजीनामा दिएको अवस्थामा संसदबाट विश्वासको मत लिने ओलीको प्रस्तावको पक्षमा बहुमत नपुग्न सक्छ । उनको पक्षमा बहुमत नपुगेमा नयाँ सरकार बन्ने अवस्थामा अर्को पक्षलाई भने यो कदमका कारण सहज हुनसक्छ ।

राजीनामा दिएका सांसदहरुको संख्या प्रतिनिधि सभामा कूल संख्याबाट घट्ने हुँदा ओलीले विश्वासको मत लिँदा वा अर्को पक्षले नयाँ सरकार बनाउनका लागि आवश्यक बहुमत संख्या पनि सोहि आधारमा घट्छ । त्यस्तो अवस्थामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिल्दा बहुमत पुग्ने सम्भावना रहन्छ । तर जसपाभित्र रहेका महन्थ ठाकुर पक्षको भूमिका पनि निर्णायक रहनेछ ।

त्यसो त, माधव नेपाल पक्षले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि यस विषयमा छलफल गरिररहेको छ । नेपाल पक्षका केहि नेताहरुले प्रचण्डसँग ओलीलाई विश्वासको मतमा समर्थन गर्ने बरु जसपाको बहुमत पक्षलाई ओलीविरुद्ध एक ढिक्का राखेर विश्वासको मतको पक्षमा बहुमत पुग्न नदिने रणनीति लिनुपर्ने बताएका छन् । त्यसो गर्दा ओलीले एकातर्फ विश्वासको मत लिन सक्दैनन् भने अर्कोतर्फ एमाले एक ढिक्का रहेको देखिन्छ र नेपाल पक्षलाई कारबाही गर्न ओलीलाई नैतिकरुपमा अप्ठेरो पर्छ भन्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७