राशनमा भ्रष्टचार भएको भन्दै सुर्खेतका एसपी विरुद्ध मुख्यालयमा उजुरी

काठमाडौं, २१ बैशाख : सशस्त्र प्रहरी बल रक्तकाली गण सुर्खेतका एसपी दिग्बिजय सुबेदीले राशन दुरुपयोग गरेको भन्दै सशस्त्र प्रहरी बलको मुख्यालयमा उजुरी परेको छ । सुबेदीले राशनमा भ्रष्टचार गरेको भन्दै गणकै कर्मचारीहरुले मुख्यालयमा उजुरी गरेको मुख्यालय स्रोतले जनाएको छ ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले मुलुक संकटको अवस्थामा छ । सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई यसको नियन्त्रण र रोकथाममा परिचालन गरेको छ । तर यस्तो महामारीमा समेत गणका ७५ जना बढी कर्मचारीहरुलाई घर बिदामा पठाएका छन् । राशनमा भ्रष्टचारकै लागि उनले बिदामा पठाएको एक अधिकृतले बताए ।
‘अहिले पनि उनको गणबाट ७५ जना भन्दा बढी कर्मचारीहरु घर विदामा छन् । हरेक महिना ७५ भन्दा बढी कर्मचारीलाई विदा पठाएर त्यसवापतको रकम उनले लिने गरेका छन्,’ एक कर्मचारीले भने, ‘एउटा कर्मचारीको ५हजार ५ सय रुपैया राशन भत्ता आउने गरेको छ । कर्मचारीलाई विदा पठाए वापत उनले सो रकम आफूलाई बुझाउन शर्त राखेका छन् ।’ यस प्रकारको शर्तमा भएपनि खेती लगाउने सिजन भएकाले प्रहरी कर्मचारीहरु पनि खुशी भएर विदा जाने गरेका बताइन्छ । ‘उनीहरु घर जान दिए वापतको हरेक महिना आउने राशनको रकम भने एसपीलाई बुझाउनु पर्छ,’ रक्ताकाली गणका एक सिनियर अधिकृतले भने ।
रक्तकाली गणका एसपी सुबेदीका बिषयमा गणका जुनियर दर्जाका अधिकृतले यस अघि बाहिनिमा रिपोर्ट पनि गरेपनि बाहिनीपति डिआइजी अभि खत्रीले उनलाई उन्मुक्ति दिएपछि त्यसको रिपोर्ट मुख्यालयसम्म आइपुगेको मुख्यालयका एक अधिकृतले बताए । उनले एसपी सुवेदीसँगै मिलाएर उन्मुक्ति दिएको आरोपसहित मूख्यालयमा उजुरी परेको स्रोतको दावी छ ।
कर्मचारी बिदा छोडेर राशनमा बदमासी भएको उजुरी बाहिनिमा परे पछि उल्टै छनबिनको सट्टा मोटो रकम गण बाट डिआइजी खत्रीले लिएको चर्चा अहिले ६ नम्बर प्रदेशमा छ । सुबेदी तिनै अधिकृत हुन् जसले भर्ना छनौट शाखामा रहदा पनि अनियमितता गरेको आरोप लागेको थियो ।
बारा बस्दा समेत जगदम्बा स्टिल्सका कामदार भारत बाट नेपाल छिराए बापत रकम असुलि गरे पछि उनलाइ कमान्ड बाट बिचमै फिर्ता गरिएको थियो । ‘उनले मासिक ७५ जना भन्दा बढी जनशक्तिलाई विदामा पठाएर राशनको पैसा लिएको विषयमा उजुरी गरियो तर बाहिनिपतिले वास्ता गरेनन्,’ रक्तकालि गणका जुनियर अधिकृतले भने । बाहिनिपति खत्रीले मातहतका अन्य युनिट बाट समेत रकम उठाउने गरेको स्रोतको दाबी छ ।